देवदह । रुपन्देहीको देवदहमा संचालित सामूदायिक विद्यालयहरु चरम आर्थिक संकटबाट गुज्रिईरहेका छन् । जसको प्रत्यक्ष मारमा निजिस्रोतबाट तलब पाउने गरि नियुक्त गरिएका शिक्षक कर्मचारी परेका छन् ।
देवदह-८ स्थित जनता माध्यमिक विद्यालयमा निजि स्रोतबाट अंग्रेजी माध्यममा अध्यापनरत ७ जना शिक्षकलाई तलब खुवाउने रकम नभएपछी जेठ महिनायता उनीहरुलाई विद्यालयमा हाजिरी गराईएको छैन । सेतोमसीसंग कुरा गर्दै विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त पाण्डेले भने - "जनतन बैशाख महिनाको तलब खुवाईयो तर विद्यालयको आर्थिक अवस्था कमजोर भएकोले जेठ यताको तलब खुवाउन सकिएको छैन ।" उनका अनुसार कोरोना महामारीका कारण स्कुल बन्द रहेको र विद्यार्थीसंग शुल्क पनि नलिईएकोले निजि स्रोतबाट तलब व्यबस्थापन गर्न गाह्रो भएको हो । विद्यालय व्यवस्थापन समितिको बैठकले निर्णय नै गरेर तत्काललाई निजि स्रोतका शिक्षकहरुलाई बेतलवी विदामा राखिएको छ ।
त्यसैगरी, देवदहको नमूना सामूदायिक विद्यालय समेत भनेर चिनिएको केरवानी माध्यमिक विद्यालयलाई पनि निजि स्रोतका शिक्षकलाई तलब खुवाउन धौधौ परेको बताउँछन्, बिद्यालयका प्रधानाध्यापक दुर्गादत्त शर्मा । "जनतन असारसम्मको तलब खुवाईयो अब भने साह्रै मुस्किल छ" सेतोमसीसंग कुरा गर्दै प्र.अ. शर्माले भने ।
सोही विषयमा कुरा गर्दै देवदह माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवप्रसाद घिमिरेले कोरोना महामारीका कारण आर्थिक संकट परेको बताए । "अहिलेसम्म त तलब खुवाईएको छ तर अब पनि यहि अवस्था रहे धेर नै गाह्रो हुन्छ" - प्रअ घिमिरेले भने ।
हामीले यो विषयमा देवदह नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्मासंग कुरा गर्दा विद्यालयहरूमा त्यसप्रकारको समस्या रहेको र केही विद्यालयका निजिस्रोतका शिक्षकले ज्ञापन पत्र पनि बुझाएको बताए । "यो कोरोना महामारीको कारण सिर्जित समस्या हो । विद्यालय बन्द भएको अवस्थामा निजिस्रोतका शिक्षक कर्मचारीलाई तलब खुवाउन गत साल पनि समस्या भएको र यो पटकपनि सोही समस्या दोहोरिएको छ" उनले भने ।
यस विषयमा नगरपालिकाले केही हल दिन सक्ने अवस्था रहन्छ कि रहदैन भन्ने हाम्रो प्रश्नमा प्रमुख शर्माले नगरपालिकामा त्यसप्रकारको बजेट नहुने बताए । विद्यालयहरुमा अंग्रेजी र नेपाली गरि दुई माद्यमबाट अध्यापन भइरहेको हुनाले शिक्षक धेरै चाहिने तर स्रोतभने सोही आधारमा वृद्धि नहुने हुनाले यस्तो समस्या आउने गरेको उनको भनाई छ ।
यद्यपि यो देवदहको मात्र नभएर देशकै समस्या हो । सम्मानित शिक्षण पेशामा आवद्ध शिक्षकहरू कोहि दरबन्दी, कोहि राहत, कोहि अनुदान त कोहि निजि यस्ता कैयौं प्रक्रियाबाट नियुक्त गरिनुले राज्यकै स्पष्ट नीति र कार्यदिशा छैन र टालटुले तरिकाले देशको शिक्षा प्रणाली चलिरहेको छ भन्ने देखाउँछ ।
कहिले अस्थायी शिक्षकले स्थायी हुनकालागी आन्दोलन गर्नुपर्ने, कहिले शिक्षक सेवाबाट आएका शिक्षकहरु हामीलाई पनि निजामती कर्मचारी सरह राष्ट्रसेवकको दर्जामा राख भन्दै आन्दोलित हुनुपर्ने त कहिले निजिस्रोतबाट न्युनतम तलब पाउने गरि नियुक्त गरिएका शिक्षकहरु हामीलाई तलब देउ भन्दै ज्ञापन पत्र बोकेर हिड्नुपर्ने । पवित्र शिक्षा क्षेत्रभित्रका यस्ता समस्याले अवश्य पनि विद्यार्थीमैत्री सिकाई एवं दक्ष र नैतिकवान् नागरिक उत्पादनमा अवरोध पुर्याउँनेछ । सरोकारवाला निकायले बेलैमा यसबारे सोंच्न जरुरी छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology