राहुल देव सापकोटा, देवदह । रूपन्देहीको देवदह नगरपालिका वडा नं. ५ ले फोहोर वर्गीकरण सम्बन्धी सचेतना तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। वडाभित्र रहेका संस्थाहरूका प्रतिनिधिहरूको उपस्थितिमा शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै रूपन्देही जिल्ला क्षेत्र नं. १ का प्रतिनिधि सभा सांसद छविलाल विश्वकर्माले वडा नं. ५ देवदह नगरपालिकाको केन्द्रमा रहेको र यो वडाभित्र देवदहका प्रमुख विकासका गतिविधि जस्तै बसपार्क, रङ्गशाला, फोहोर डम्पिङ साइट लगायतको थुप्रै विकासोन्मुख काम सञ्चालनमा आफ्नो साथ र सहयोग रहने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले देवदह-५ देवदह नगरपालिकाकै उत्कृष्ट वडा रहेको बताउँदै वडा अध्यक्ष गणेश डुम्रेको नेतृत्वमा रहेको युवाहरूको समुहलाई सहयोग गर्न सबै वडा बासीलाई आग्रह गरिन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले नगरपालिकाभित्र फोहोरको वर्तमान अवस्था र यसलाई व्यवस्थापन गर्ने उपायबारे उपस्थित जानकारी गराएका थिए। उनले घरबाट निस्कने कुहिने र नकुहिने फोहरलाई छुट्याएर राख्न र कुहिने फोहोरलाई कम्पोस्टविनको प्रयोग गरी मल बनाउन आग्रह गरे ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै देवदह नगरपालिका वडा नं ५ का वडाध्यक्ष गणेश डुम्रेले देवदह नगरपालिकाले अगाडि सारेको फोहोरमैला व्यवस्थापन सम्बन्धी योजना सफल बनाउन वडा कार्यालय र वडावासीले खेल्नुपर्ने भूमिकाको चर्चा गरेका थिए ।
सो अवसरमा वडा कार्यालयको तर्फबाट बिभिन्न प्रतियोगितामा बिजेता हुने वडाबासीलाई पुरस्कार सहित सम्मान समेत गरिएको थियो ।
कार्यक्रम देवदह नगरपालिका वडा नं ५ का वडा सदस्य होमनाथ भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology