नविन लुइँटेल, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ को वडा बाल संजालले बालमैत्री सचेतनामुलक सडक नाटक तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार बुद्ध सामुदायिक वन उपभोक्ता समुहको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै देवदह नगर प्रवक्ता तथा वडा नं ५ का अध्यक्ष गणेश डुम्रेले वडा कार्यालय फागुन २ गते देवदह-५ लाई देवदहको पहिलो बालमैत्री वडा घोषणा गर्नेगरि अघि बढेको बताए । वडाले बालमैत्री स्थानिय शासनका अधिकांश सूचकहरु पुरा गरेको र अबको केहि दिनमा बाँकी सुचकहरु पुरा गरि बालमैत्री वडा घोषणा गरिने उनको भनाई छ ।
गत तिहारमा बालमैत्री सचेतनामुलक देउंसी भैलो समेत आयोजना गरेको वडा बाल संजालले वडा कार्यालयसंगको सहकार्यमा विभिन्न सृजनशील कार्यक्रम गर्दै आएको छ । सोही अभियान अन्तरगत शनिबार सचेतनामुलक नाटक र सम्मान कार्यक्रम सम्पन्न गरिएको संजालले जनाएको छ ।
सो अवसरमा वडा बाल संजाललाई सहयोग गर्ने व्यक्ति, संघसंस्था तथा देउंसी भैलोमा सहभागी बालबालिकाहरुलाइ सम्मान गरिएको थियो ।
कार्यक्रम वडा बालसन्जाल अध्यक्ष सृजना गैरेको अध्यक्षता र सहजकर्ता बबिता भट्टराईको सन्चालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology