देवदह । रूपन्देहीको देवदह-४ मा अवस्थित महामाया भवानी माध्यमिक विद्यालयमा स्वर्ण महोत्सव तथा ५३ औं बार्षिकोत्सव अन्तरगत सप्ताहव्यापी कार्यक्रमहरू शुरु भएका छन् । सप्ताहव्यापी कार्यक्रमको शनिबार एक कार्यक्रमकाबीच देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गरे ।
फागुन १८ गते स्वर्ण महोत्सव मूल समारोह आयोजना गरेको विद्यालयले सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन नवनिर्मित बहुआयामिक मन्चको उद्घाटनसंगै खेलजन्य गतिविधि संचालन गरेको छ ।
सप्ताहव्यापी कार्यक्रम तथा मन्च उद्घाटन कार्यक्रममा बोल्दै देवदह नगरपालिका प्रमुख खरेलले शिक्षाको विकासले मात्र समाज रुपान्तरण गर्न सकिनेमा जोड दिए । सामुदायिक विद्यालयहरुले आम नागरिकको विश्वास जित्ने गरी शिक्षालाई अगाडि बढाउन आवश्यक रहेकोमा उल्लेख गर्दै उनले महामाया भवानी माविले स्वर्ण महोत्सव मनाईरहदा विद्यालयलाई नमुना विद्यालयको रुपमा अगाडि बढाउने गरि शैक्षिक गुणस्तर कायम गर्नुपर्ने बताए । नगर प्रमुख खरेलले मानवीय विकासमा शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने भएका कारण देवदह नगरपालिकाले शिक्षालाई महत्व दिएर अगाडि बढिरहेको दावी गरे ।
महामाया भवानी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल जिसीको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, देवदह नगरपालिका–४, का वडाअध्यक्ष दमननाथ रेग्मी, देवदह–८, का वडाअध्यक्ष हरिप्रसाद पाण्डे लगायतले आ–आफना भनाई राखेका थिए ।
कार्यक्रमको उद्घाटन पुर्व प्रभातफेरी गरिएको थियो । विद्यालय प्रांगणबाट शुरु भएको प्रभातफेरी, पिपरा, सिगाहा हुँदै विद्यालयमा पुगेर सभामा परिणत भएको थियो । प्रभातफेरीमा विद्यालयका शिक्षक, विद्यार्थी, विभिन्न आमा समुहका प्रतिनिधि, क्लवका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्यालको स्वागत, शिक्षक काशीनाथ पाण्डे र निलराज वस्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नगरस्तरीय अन्तर विद्यालय छात्र भलिवल प्रतियोगिता शुरु
महामाया भवानी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव तथा ५३ औं बार्षिकोत्सवको अवसरमा नगरस्तरीय अन्तर माध्यमिक विद्यालय छात्र भलिवल प्रतियोगिता समेत शुरु भएको छ । प्रतियोगितामा देवदह क्षेत्रका १० वटा विद्यालयको सहभागिता रहेको प्रधानाध्यापक अर्यालले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेलमा सेभेन स्टार बोडिङ्ग स्कुल विजयी भएको छ । देवदह ईङलिस बोडिङ्ग स्कुललाई सोझो सेटमा हराउदै सेभेन स्टार दोश्रो चरणमा प्रवेश गरेको छ । खेलमा २५–२०, २५–१६ को सोझो सेटमा जित्दै सेभेन स्टार बोडिङ्ग स्कुल दोश्रो चरणमा प्रवेश गरेको हो ।
यसैगरी दोश्रो खेलमा केरवानी माध्यमिक विद्यालय दोश्रो चरणमा प्रवेश गरेको छ । खेलमा देवदह माध्यमिक विद्यालयलाई २५–१५, २५–२१ को सोझो सेटमा हराउदै केरवानी मावि दोश्रो चरणमा प्रवेश गरेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology