देवदह । देवदह नगरपालिकाले महामाया भवानी माध्यमिक विद्यालयको जग्गामा स्थानीयले बनाएका घर तथा संरचना हटाउन ३५ दिने सुचना जारी गरेको छ । बिहिवार जारी गरिएको सूचनामा विद्यालयको नाममा रहेको जग्गा भोगचलन गरिरहेका ४९ जनालाई जग्गा खाली गर्न निर्देशन दिइएको हो ।
प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ "भवानीपुरमा रहेको नक्सा सिट केरवानी ५/क कि.नं. ११५ क्षेत्रफल ज.वि. ६-१४-१७ सरकारी जंगल रहेको जग्गामा र देवदह ३ मा रहेको नक्सा सिट केरवानी ४/घ कि.नं. १५ क्षेत्रफल ज.वि. १-०-० जग्गा श्रेष्ता बमोजिम महामाया भवानी माध्यमिक विद्यालयको नाममा रहेको जग्गामा घर टहरासमेत बनाई भोगचलन गरेको देखिएको हुँदा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ (२) (छ) बमोजिम उल्लिखित जग्गामा बनेको घर टहरा समेत हटाई जग्गा खाली गर्नुहुन देहायका व्यक्तिहरुका नाममा यो ३५ दिने सूचना जारी गरिएको छ ।"
विभिन्न समयमा विद्यालयलाई आर्थिक अभाव हूँदा विद्यालयलाई रकम दिएर जग्गा खरिद गरी घर संरचना बनाएका ४९ जनाको नाम नै उल्लेख गरेर सूचना जारी गरेपछि उनीहरूले आपत्ति जनाएका छन् ।
आफूहरूले विद्यालयको खरिद गरेर बसेको र संस्थाले बिक्री गरेको जग्गामा घर बनाई वर्षौंदेखि बस्दै आएकोले यसको जिम्मा विद्यालयले लिनुपर्ने उनीहरूको भनाइ छ ।
यता विद्यालयले भने यसबारे के गर्ने भन्ने टुंगोमा पुगि नसकेको जनाएको छ । विद्यालयका प्रधानध्यापक ऋषिश्वर अर्यालले अख्तियारले बयानमा बोलाएछि बयान दिएर आएको बताए ।
२०६१ र त्यसपछि समेत गरी दुई पटक विद्यालयले जग्गा विक्री गरेको उल्लेख गर्दै उनले तत्कालीन अवस्थामा विद्यालयका अध्यक्ष निलकण्ठ पौडेल, प्रधानाध्यापक कमल प्रसाद पाण्डे र दीनानाथ अर्याल रहेको बताए ।
विगत ५-६ महिनादेखि अख्तियार अनुसन्धान दुरुपयोग आयोगले अनुसन्धान गरिरहेको उक्त जग्गा प्रकरणमा अख्तियारले सम्बन्धित सबैसंग बयान लिइसकेको छ ।
३५ दिने सूचना सार्वजनिक भइसकेपछि कानुनी प्रक्रियामा अघि जाने र यस उपर आवश्यक कारवाही हुने कानुनका जानकारहरुले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology