देवदह । देवदह नगरपालिका वडा नं ४ मा अवस्थित महामाया भवानी माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाएको छ । फागुन १२ देखि सप्ताहव्यापी कार्यक्रम गरेको विद्यालयले शुक्रबार स्वर्ण महोत्सव तथा ५३ औं बार्षिकोत्सवको मूल समारोह आयोजना गर्यो ।
स्वर्ण महोत्सवको मूल समारोह कार्यक्रमबीच प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले स्वर्ण स्तम्भ र सरस्वती मन्दिर उद्घाटनसंगै स्वर्ण स्मारिका विमोचन गरेका छन् ।
स्वर्ण महोत्सव तथा ५३ औं बार्षिकोत्सवको मूल समारोहमा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले शिक्षाको विकासले मात्र देश समृद्धि प्राप्त हुने बताए । अबको शिक्षा प्रविधिमैत्री हुनुपर्ने बताउदै सांसद विश्वकर्माले सामुदायिक विद्यालयले पनि प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताए ।
फरक प्रसंगमा बोल्दै पुर्वमन्त्री समेत रहेका सांसद विश्वकर्माले विद्यालयको आवश्यक भौतिक पुर्वाधारको जिम्मा तिनै तहको सरकारले लिने बताए । आवश्यक पूर्वाधार र जनशक्ति भएमात्र गुणस्तरीय शिक्षा प्राप्ति हुने उल्लेख गर्दै उनले देवदह गौतम बुद्धको मावलीस्थल रहेकोले पर्यटकीय क्षेत्रको रुपमा विकास गरी आर्थिक लाभ लिन आवश्यक गृहकार्य गर्नुपर्ने औल्याए ।
संवाद, सहमति र सहकार्यको मार्गमै सबै समस्याको समाधान भेटिने उल्लेख गर्दै उनले अराजकताले शान्ति र समृद्धिको सपना पुरा नहुने बताए ।
प्रभातफेरीबाट गरि सुरू गरेको स्वर्ण महोत्सव विशेष कार्यक्रममा नगरस्तरीय खेलकुद, जिल्ला स्तरीय हाजिरीजवाफ, चित्रकला प्रतियोगिता, अग्रेजी निबन्ध प्रतियोगिता, चन्दादाता तथा पुर्व शिक्षक, पुर्व विद्यालय व्यवस्थापन समितिलाई सम्मान गर्दै स्वर्ण महोत्सव तथा ५३ औं बार्षिकोत्सव मनाएको विद्यालयका प्रधानाध्यापक ऋषिश्वर अर्यालले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल जिसीको अध्यक्षतामा भएको मूल कार्यक्रममा देवदह नगरपालिका प्रमुख ध्रुवपसाद खरेल, नगर शिक्षा अधिकारी टिकाराम शर्मा, योग प्रशिक्षक नमकान्त पाण्डे लगायतले बोलेका थिए । कार्यक्रममा विद्यालयका प्राधानाध्याक ऋषिश्वर अर्यालले शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय कलाकार तेजु अर्यालसहित स्थानीय कलाकार एवं विद्यार्थीहरुले आ–आफना प्रस्तुती दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology