कविता : लार्भा भित्रकी पुतली
जान्ने भए देखि नै रङ्गहरुसँग मोह छ मलाई
आमाको छिर्केमिर्के साडी
निधारको रातो टीका
गलाको हरियो पोतेमा मेरी आमा मलाई सार्है राम्री लाग्छ
मैले पनि कैयौं पटक
यो पहिरनमा आफूलाई ऐना अगाडि नियालेकी छु
म ठ्याक्कै मेरी आमा जस्तै देखिन्छु
परन्तु बन्द कोठा भित्र मात्र म यो सब गर्न सक्छु।
हजुरलाई इन्द्रेणी मन पर्छ भन्नु भएको होइन ?
फेरि मलाई रङ्गहरुमा किन देख्न सक्नु भएन ?
म बिस्तारै यौवन उन्मुख छु ,
मलाई मेरै कक्षाको ऊ असाध्य मन पर्छ
पुतली खेल्ने बेला देखि नै हो
आजकल लाग्छ उसको नजर मबाट नछुटोस्
मेरो मनवदनका गुलाफी अधर सम्म
उसका एक जोर ओठ आईपुगुन्
ऊ मलाई देखेर मख्ख परोस् ,
हात समाउँदै रनबन डुलुँ
गरुँ पिरतिको मीठो बाचा।
म भित्र हुर्किरहेकी यौवना,
खुलेर हाँस्न सकोस् ,
नाच्न सकोस् आफ्नै चालढालमा
बाँच्न सकोस् एक आम नागरिक भै ।
सपनालाई बिपना,
कल्पनालाई वास्तविक तुल्याउन
मैले मलाई लुकाईरहेको लार्भा
च्यातेर बाहिर आउनु पर्छ
यो बिल्कुल नयाँ जातको पुतली हुनेछ ।
किन दु: खी देखिनु भएको
वाग राम्रो विविधताले हुन्छ
हजुरले भन्नू भएको होइन ?
के पारालिङ्गीहरु कुनै उपग्रहबाट
फुत्त खसालिएका हुन्
जसको अस्तित्व धरामा स्वीकार्य छैन ?
सर्जक : नमिता दवाडी, गोर्खा नेपाल
हाल: न्युजिल्यान्ड
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology