देवदह । दशौँ सुरक्षित गर्भपतन दिवसको अवसरमा रुपन्देहीको देवदहमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आमा समूह, टोल विकास संस्था र स्थानीय महिलाहरूको उपस्थितिमा देवदह-७ को वडा कार्यालय सभाहलमा अन्तरक्रिया गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्र शितलनगरका प्रमुख हेमलाल कुँवरले जानकारी दिए ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, नगर स्वास्थ्य शाखा प्रमुख काशीनाथ बन्जाडे, नर्सिङ्ग अधिकृत माया पुन: लगायतले कानुन बमोजिम गरिने गर्भपतन सुरक्षित हुनेभएकोले असुरक्षित गर्भपतन गर्न नहुनेमा जोड दिए । सामान्य अवस्थामा १२ हप्तासम्मको गर्भपतन सुरक्षित हुनेभएपनि हाडनाता करणी, बलात्कार तथा बच्चा र आमाको स्वास्थ्य जटिलतालाई हेरेर २८ हप्तासम्मको गर्भपतन बैधानिक र सुरक्षित मानिने वक्ताहरूले बताए । असुरक्षित यौनसम्पर्कबाट रहने अनिच्छुक गर्भ पतन गर्ने कानुनी व्यवस्था रहेको भएपनि अस्थायी साधनको प्रयोग गरिनु स्वास्थ्यको लागि राम्रो हुने भएकोले गर्भपतनलाई नियमित प्रक्रियाको रूपमा नभई कानुनले दिएको आकस्मिक सुविधाको रूपमा बुझ्नुपर्ने उनीहरूको भनाई छ ।
नेपालमा मुलुकी ऐनको ११औं संशोधनसँगै सुरक्षित गर्भपतन ऐनले कानुनी मान्यता पाएको थियो । सुरक्षित गर्भपतन ऐन २०५५, प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५, स्वास्थ्य सेवा ऐन २०७५ तथा स्वास्थ्य सेवा नियमावली २०७७ बनेसँगै नेपालमा सुरक्षित गर्भपतन सेवा थप प्रभावकारी बनेको छ र प्रजनन अधिकारमा महिलाको अधिकार स्थापित हुँदै गएको हो ।
सन् १९९६ सम्ममा प्रति एक लाख जीवित जन्ममा ५३९ मातृको मृत्यु रहेकामा सन् २०२१ मा आइपुग्दा प्रति एक लाख जीवित जन्म मातृको मृत्यु घटेर १५१ मा झरेको छ । नेपालले सुरक्षित गर्भपतन सेवा, महिलाको प्रजनन अधिकारको क्षेत्रमा कानुनी, नीतिगत र कार्यक्रम स्तरमा गरेको सुधारको कारण अहिलेको स्थितिमा आइपुग्न सफल भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको दाबी गरेका छन् ।
नेपालको संविधानले प्रजनन अधिकारलाई मौलिक हकको रूपमा व्यवस्था गरेको प्रजनन स्वास्थ्य ऐन २०७५ र नियमावली २०७७ ले व्यवस्था गरेबमोजिम सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा, प्रेषित, आवश्यक परामर्श र परिवार नियोजनको कार्यक्रम विस्तार गरेको छ ।
सुरक्षित गर्भपतन सेवाका लागि हालसम्मको तथ्यांकमा १० हप्तासम्मको औषधीको प्रयोगद्वारा गरिने गर्भपतन सेवाका लागि १६८३ स्वास्थ्य संस्था र ४२३५ स्वास्थ्यकर्मी सूचीकृत छन् भने १० हप्तासम्मको औषधीको प्रयोग र उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि ७३० स्वास्थ्य संस्था र १४१९ स्वास्थ्यकर्मी सूचीकृत भएका छन् ।
१२ हप्तासम्मको उपकरणको सहायताद्वारा गरिने गर्भपतनका लागि ३५० स्वास्थ्य संस्था र २८६० चिकित्सिक तथा स्वास्थ्यकर्मी र १२ हप्ताभन्दा माथिको गर्भपतन सेवाका लागि ६३ वटा स्वास्थ्य संस्था र १८७ जना चिकित्सकलाई सूचीकृत भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology