रेशम अधिकारी, देवदह । अविरल वर्षापछि आएकाे बाढीका कारण रुपन्देहीको देवदह नगरपालिकामा रहेको सामुदायिक विद्यालय केरवानी माध्यामिक विद्यालयको माछापालन प्रभावित भएको छ ।
विद्यालयका कृषि शिक्षक निरन्जन अर्यालले बिहीबार रातिदेखि आएको पानीले कजरा नदीमा पानीको बहाव बढेसँगै विद्यालयको नाली हुँदै बाढी पोखरीमा प्रवेश गरेको सेतोमसीलाई बताए ।
अर्यालका अनुसार विद्यार्थीको व्यावहारिक शिक्षाका लागि प्रत्येक वर्ष विद्यालयले माछापालन गर्दै आएको छ । ‘ गत वर्ष माछापालनबाट विद्यार्थी र विधालयले सफलता पाएपछि यो वर्ष पनि पोखरीमा ४००० माछा हालिएको हो’, शिक्षक अर्याल भने, ‘पोखरीबाट विद्यार्थी र विधालयले ५० हजारको व्यापार गर्ने आकलनसमेत गरेका थियौं।’
उनले माछामा कति क्षति भयो भन्ने तथ्यांकको प्रारम्भिक अनुमान गरिए पनि कुल क्षतिको विवरण अझै आउन नसकेको बताए । पोखरीमा अनुगमन गरि के–कति क्षति पुगेको छ भन्ने तथ्यांक आएपछि मात्र कुल क्षतिको विवरण आउन सक्ने अर्यालले बताए । केरवानी माध्यमिक विद्यालयले प्राविधिक धार तर्फ ९-१२ कार्यक्रम अन्तर्गत कृषि विषय संचानल गर्दै आएको छ ।
कृषि अध्ययनरत विद्यार्थीहरुले व्यावहारिक शिक्षा अन्तर्गत तरकारी खेती, माछापालन, च्याउ उत्पादन लगायतका काम गर्दै आएका छन् । यस्ता कार्यले गर्दा विद्यार्थीहरुले किताबी ज्ञान मात्र नभएर व्यावहारिक ज्ञानसमेत हासिल गर्न सक्ने विद्यालयका प्राधानाध्यापक दुर्गादत्त शर्माले सेतोमसीलाई बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology