देवदह । नवौं राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत मुल आयोजक समितिको तेश्रो पूर्ण बैठक सम्पन्न भएको छ । अध्यक्ष कोषबहादुर गुरुङ्गको अध्यक्षतामा बसेको बैठकले मेला सम्पन्न गर्न गठिन सम्पूर्ण उपसमिति संयोजकहरुलाई आ–आफ्नो समितिमा सदस्यको पदपुर्ति गर्न निर्देशन गरेको छ । पदपुर्तिको लागि मंगलवार सम्मको समय दिइएको महासचिव हरि भण्डारीले जानकारी दिए ।
‘देवदह व्यापार संघको आयोजनामा आगामी माघ १० गतेदेखि २२ गतेसम्म सञ्चालन हुने मेलालाई थप व्यवस्थित बनाउन सचिवालयलाई महोत्सव स्थलमा सार्ने निर्णय गरिएको छ ।’ अध्यक्ष गुरुङ्गले भने, ‘आगामी पौष २१ गते संघको सचिवालय महोत्सव स्थलबाटै सञ्चालन हुनेछ । सचिवालय महोत्सव स्थलमा सरेपछि तयारी थप अघि बढ्नेछ ।’
‘औद्योगिक व्यापार विविधिकरण, पर्यटन प्रवद्र्धन एवम् व्यावसायिक कृषि नै समृद्ध राष्ट्रको आधार’, ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नारासहित सञ्चालन हुने महोत्सवको तयारी स्वरुप पदर्शनी स्थलमा स्टल र बाउण्ड्रीको काम सुचारु भइसकेको छ ।
मेला सम्पन्न गर्नका लागि यसअघि मुल आयोजक सहित अन्य ३१ वटा उप–समिति गठन गरिसकेको संघले जनाएको छ । मेलालाई व्यवस्थित र मर्यादिन बनाउनका लागि संघका अध्यक्ष कोषबहादुर गुरुङ्ग संयोजक र बरिष्ठ उपाध्यक्ष माधव ढकाल सह–संयोजक रहेको ३४ सदस्यीय मुल आयोजक समिति निर्माण गरिएको मिडिया समन्वय समितिका संयोजक पवन पौडेलले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology