देवदह । बिहिबारदेखि सुरु भएको नवौं देवदह महोत्सवमा भोलि चर्चित लोकगायीका समिक्षा अधिकारीको प्रस्तुति रहने भएको छ । भर्खर मात्रै करोड क्लबमा प्रवेश गरेको ‘कन्या राशि’ एल्बमको 'कस्तो जोडी जुराईदियौ धन्य प्रभु धन्य' जस्ता लोकप्रीय गीतमा आवाज दिएकी कलाकार अधिकारीले शनिबार महोत्सवमा प्रस्तुति दिने महोत्सवका मिडिया संयोजक पवन पौडेलले जानकारी दिए ।
गायीका अधिकारीको साथमा राष्ट्रिय कलाकारहरू नारायण बिपी, सपना रोका, विक्रमबाबु विश्वकर्मा, डान्सर सम्झना गुरुङसंगै गायक तथा उद्घोषक जीवन दहालको प्रस्तुती रहने महोत्सवका सांस्कृतिक संयोजक पीताम्बर खरेलले बताए । 'महोत्सवमा हरेक दिन चर्चित कलाकारको आगमन हुनेछ ।' संयोजक खरेलले भने, 'स्थानीय र राष्ट्रिय कलाकारको विशेष प्रस्तुती हाम्रै देवदहमा हेर्ने मौका नगुमाउनु हुन सम्पूर्णलाई अनुरोध गर्दछु ।'
देवदह व्यापार सङ्घ रूपन्देहीको आयोजनामा माघ २२ गतेसम्म सञ्चालन हुने महोत्सवमा लुम्बिनीको प्राचीन मायादेवी ग्रामसहितको मोडल, पाकडी वृक्षको आकृति, फोटो प्रदशनी, विज्ञान प्रर्दशनी, गुरुङ र मगर समुदायको घर, सेल्फी जोन, लगायतका आकर्षकहरु रहेका छन् ।
महोत्सवमा सांस्कृतिक कार्यक्रम अन्तरगत डान्सिङ आइडल, अन्तर विद्यालय लोकगीत/लोक नृत्य प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, पन्चे बाज प्रतियोगिता, भजन प्रतियोगिता, टिकटक प्रतियोगिता, भलिबल प्रतियोगिता र डोरी तान्ने प्रतियोगिता लगायतका कार्यक्रमहरु हुनेछन् ।
कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, पर्यटकीय स्थलहरुको जानकारी दिने सूचना केन्द्र, विभिन्न जातजातिहहरुको संस्कृति झल्किने खानाका परिकार लगायतका गतिविधिहरू महोत्सवका आकर्षकका रुपमा रहने मूल आयोजक समिति संयोजक कोष बहादुर गुरुङले बताए ।
"राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ एवम् सबल बनाउन उद्योग तथा वाणिज्य क्षेत्रका व्यवसायीहरूको संस्थागत विकास गर्ने उद्देश्यले नवौ देवदह महोत्सव आयोजना गरेका हौँ ।" संयोजक गुरुङले भने, "कृषि क्षेत्र, शैक्षिक, धार्मिक, पर्यटक र व्यापारिक क्षेत्रको रूपमा मात्र नभएर देवदहका ऐतिहासिक स्थलहरू भवानीपुर क्षेत्र, रोहिणी नदी, दह, कन्यामाई, वैरिमाई, पाकरी वृक्ष, खयरडाँडा तथा अन्य विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नपनि महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।"
हरेक दिन बिहान ९ बजेदेखि बेलुका ८ सम्म अवलोकन गर्न सकिने मेलाको प्रवेश शुल्क सर्वसाधारणलाई ६० रुपियाँ र विद्यार्थीलाई ४० रुपियाँ कायम गरिएको छ । ज्येष्ठ नागरिक र विशिष्ट शारीरिक क्षमता भएकाहरूलाई परिचय पत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
महोत्सवमा होटल, कृषि, विद्यालयका विज्ञान प्रर्दशनी लगायत दुई सय ५८ स्टलहरू रहने छन् । छ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने लक्ष्य लिइएको छ ।
देवदह व्यापार सङ्घ, देवदह उद्योग वाणिज्य सङ्घ र उद्योग व्यापार सङ्घ देवदह गरी तीन व्यावसायिक संस्थाले हरेक वर्ष आलोपालो महोत्सव सञ्चालन गर्ने देवदहमा वि.स. २०७१ सालबाट महोत्सव सञ्चालन हुँदै आएको छ । २०७१ सालमा रुपन्देहीमा बुटवल र भैरहवापछि पहिलोपटक देवदहमा उद्योग व्यापार संगठनले देवदह-५ स्थित पानबारी मैदानमा महोत्सव सञ्चालन गरेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology