देवदह । रुपन्देहीको देवदहमा किशोर किशोरी मैत्री स्वास्थ सेवा सम्बन्धि किशोर किशोरी कार्यक्रम सम्पन्न भएको छ । देवदह–२ स्थित केरवानी स्वास्थ्य चौकीको आयोजना र देवदह नगरपालिका वडा नम्वर २ को सहयोगमा दुईदिने अभुमूखिकरण, अर्धवार्षिक समिक्षा र अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले किशोर किशोरीहरुले आफुलाई परेका समस्याहरु निर्धक्क भएर बताउनुपर्ने, दवाव र धाकधम्कीमा बस्न नहुने र कुनै प्रलोभनमा पर्न नहुने बताइन् ।
किशोर किशोरी मैत्री स्वास्थ्य चौकी हुनका लागी १५ वटा सूचक पूरा गर्नुपर्ने बताउँदै केरवानी स्वास्थ्य चौकी जिल्लाकै दोस्रो किशोरकिशोरी मैत्री स्वास्थ्य चौकी भएको र यो अवस्थामा पु¥याउन सफल स्वास्थ्य चौकी सञ्चालन टिमको उनले प्रसंशा समेत गरिन् ।
सो अवसरमा स्वास्थ्य चौकीका इन्चार्ज काशिराम रेग्मीले स्वास्थ्य चौकीले ९७.७७ अंक प्राप्त गरेको जानकारी गराए । स्वास्थ्य चौकीबाट यौन, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य लगायत किशोरावस्थामा सृजना हुने समस्याहरु लगाएतका सेवा प्रवाह हुने उनले बताए । रेग्मीले पूर्ण गोपनियता र निशुल्क रुपमा स्वाथ्य चौकीबाट उपचार तथा परामर्श दिइने उल्लेख गरे
कार्यक्रममा देवदह नगरपालिका स्वास्थ्य शाखाका नर्सिङ अधिकृत माया पुन, नमूना एभरग्रीनका प्राचार्य कमल पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वडा नं २ का कार्यवाहक अध्यक्ष बेलुमाया बमरेलको अध्यक्षता र सिनियर अनमी भगवती भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।
त्यस्तै कार्यक्रम समापन संगै किशोरावस्थामा आउने सम्भावित समस्याका बारेमा पहिचान र सहजीकरणका लागि २१ सदस्यीय किशोर किशोरी समिति गठन गरिएको छ । जसको अध्यक्षमा प्रीन्स श्रेष्ठ, उपाध्यक्षमा युनिशा नेपाली, सचिवमा रिया राना, कोषाध्यक्षमा श्रेया बश्याल र सहसचीवमा विपासा बगाले रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology