काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजतन्त्र मृत भइसकेकाले अब नफर्किने दाबी गरेका छन्।
बुधबार माइतीघर मण्डलामा पार्टीले आयोजना गरेको कार्यक्रममा उनले केही समूह फेरि राजतन्त्र पुनःस्थापना गर्न चाहिरहेको तर त्यो सम्भव नभएको बताए। "एकथरी मान्छेहरू राजा महाराजा ल्याउने कुरा गर्दैछन्। तर, त्यो सत्य होइन, ठिक होइन। धामीझाँक्रीको रूपमा मृत भइसकेको राजतन्त्र आउने वाला छैन। त्यो समाधान पनि होइन," उनले भने।
भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘छोटे राजा’ को संज्ञा दिँदै ती नेताहरूले देश र जनताको हितमा कुनै ठोस काम नगरेको आरोप लगाए।
"अहिले अर्कोथरी तीन वटा टाउका आएका छन्, जो आफूलाई छोटे राजा भन्छन्। संविधान जारी भएपछिको ९ वर्षमा ११ वटा सरकार फेरिइसके। तीन वटै टाउका पालैपालो सरकार चलाउँछन्। सरकारमा हुँदा सबै ठिकठाक छ भनेर जनतालाई गफ दिन्छन्, सरकार गइसकेपछि बर्बाद भयो भनेर कराउँछन्। अनि जनता रनभुल्लमा पर्छन्," भट्टराईले भने।
पूर्वप्रधानमन्त्री भट्टराईले देउवा, ओली र प्रचण्डलाई ‘वैद्यरूपी टाउका’ को संज्ञा दिँदै ती नेताहरू दोहोरिँदैमा देशको समस्या समाधान नहुने दाबी गरे। "आयुर्वेदले पूर्ण उपचार गर्न सक्दैन, यिनै पुराना अनुहार दोहोरिएर देशको समस्या हल हुनेवाला छैन," उनले भने।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology