सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले दुई वटा स्कार्पियो गाडी खरिद गरेको छ। नगरपालिकाले १ करोड २२ लाख रुपैयाँको लागतमा दुई वटा स्कार्पियो खरिद गरेको हो ।
आर्थिक वर्ष सकिँदै गर्दा विपद् व्यवस्थापनका लागि अत्यावश्यक दमकलजस्ता उपकरणको सट्टा सुविधाभोगी स्कार्पियो खरिद गरिएको भन्दै नगरपालिकाको आलोचना भएको छ । अघिल्ला वर्षहरूमा सुनवल क्षेत्रमा भएका आगलागीका घटनामा दमकलको अभावले ठूलो क्षति भएको तर नगरपालिकाले पदाधिकारीको सुविधा मात्र हेरेर स्कार्पियो खरिद गरेको स्थानीयको गुनासो छ ।
'दमकल नभएकै कारण सुनवलले देवदह, रामग्राम, बर्दघाटलगायत छिमेकी नगरपालिकाबाट दमकल मगाउनुपर्ने अवस्था छ ।' एक स्थानीयले भने, 'यस्तो बेलामा विपद व्यवस्थापनको काम गर्नुपर्नेमा नगर नेतृत्व सुविधाभोगी देखियो ।'
यता नगरपालिकाले भने कार्यालयलाई आवश्यक भएर सवारी खरिद गरेको जनाएको छ । नगरपालिकाका सूचना अधिकारी मोहनराज ज्ञवालीले कार्यालय प्रयोजनको लागि गाडि खरिद गरिएको बताए । 'नगरपालिकामा एउटा मात्र गाडि रहेको हुनाले दुई वटा गाडि थप गरिएको हो' उनले भने ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले नगरसभाबाट सवारीसाधन खरीदका लागि विनियोजित बजेटअनुसार प्रक्रिया अघि बढाइएको र गाडि खरिद गरिएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology