मायालु मुटुकी धनी स्वर्गकी देवी समान थियौ।
जीवनको पथमा सधैं दीप बनी उज्यालो दियौ।।
तिम्रै स्नेह छ मुटुमा आँसु बगाउँछ यो मनमा।
ओइलिँदो फूलजस्तै बाँचिरहेछु तिमी बिना।।
गुँडैको चरा भए फन्का लगाउथे तिम्रो तिर।
मन मनै बोल्छु म सम्झनामा नयन भिजाएर।।
मातृत्व बोली सँगै हराएको स्पर्श जस्तै।
सारा जगत् सुन्दर छ तर तिमी बिना अधुरो बन्दै।।
आफुले नखाई नखाई तिमीले बचायौ मलाई।
निद्रा र थकाइमा केही नभनी हुर्कायौ मलाई।।
धर्ती समान आमाको कृपा छ सधै अनन्त।
त्यागी सुख सबै दुखमा रमायौ दुखमै भयौ अन्त।।
बर्षा, जाडो केहि नभनी तातो घाम सहेरै पनि।
मेलापात गरेर हुर्कायौ आफू नखाएर पनि।।
सागर जस्तै विशाल यो ममताको धार ।
सन्तान माथि आमाको माया छ अपारम्पार।।
बोकेर मलाई पिठ्युउमा जान्थ्यौ स्कुल लिएर।
वर्षे झरी चर्को घाममा मलाई शितलता दिएर।।
घाउ देखे कतै मेरो शरिरमा रुन्थ्यौ व्याकुल बनी।
सुमसुमाउँथ्यौ सन्चो हुन्छ बाबु नरोउ भनी।।
जूनकिरी झैँ अँध्यारोमा प्रकाशको ज्योति बनी।
दियौ आमा तिमीले सद्गुण अगाडि बढ्नु भनी।
लक्ष्यमा पुग्न तिम्रो मन बाधक छ भने कही ।
कठोर कठोर बनी अगाडि बढ केही नभनी।।
मेरो सफलताको कारणआज तिमीनै हौ आमा।
मेरो हर मुटुको धड्कनमा तिमिनै छौ आमा।।
धन्य छु म आज यहाँ जननी पाए तिमीलाई।
स्वर्गबाटै सधै आशिर्वाद दिनु आमा मलाई ।।
- दुर्गालाल तिवारी, देवदह
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology