देवदह । राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको कक्षा १२ को नतिजामा केरवानी माध्यमिक विद्यालय, देवदह–५ ले ६८.२२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ ।
कक्षा १२ को परीक्षामा सहभागी १०७ जना विद्यार्थीमध्ये ७३ जना विद्यार्थीलेसबै विषयमा ग्रेड प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक निर्मल ढुंगानाले जानकारी दिए ।
परीक्षामा सहभागी विद्यार्थीमध्ये ज्ञानु माया सुनारले सर्वाधिक ३.६६ जीपीए प्राप्त गरेको विद्यालयले जनाएको छ ।
प्रधानाध्यापक ढुंगानाले शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिले गरेको सामूहिक प्रयासको प्रतिफलस्वरूप उत्साहजनक नतिजा प्राप्त भएको बताए । उनले आगामी दिनमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै अझ राम्रो नतिजा हासिल गर्ने लक्ष्यका साथ विद्यालय अगाडि बढिरहेको जानकारी दिए ।
यस वर्षको कक्षा १२ को परीक्षामा देशभरबाट नियमिततर्फ ३ लाख ३२ हजार २४१ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये २ लाख ३१ हजार ७७० विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । त्यस्तै कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएकोमा २ लाख ६८ हजार १९० विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार नियमिततर्फ ६९.७५ प्रतिशत, आंशिकतर्फ ४२.३८ प्रतिशत तथा समग्रमा ६४.१३ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।
गत वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको ३५ दिनमै सार्वजनिक गरिएको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology