गुल्मी । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले गुल्मीका जनताले ठुलो परिवर्तन चाहेको बताएका छन् । जिल्लाको रुरुक्षेत्र गाउँपालिकामा चुनावको अन्तिम नतिजापछी आयोजना गरिएको संयुक्त गठबन्धनको विजयी उत्सव एवं भेटघाट कार्यक्रमलाई संबोधन गर्दै नेता भण्डारीले यसो बताएका हुन् ।
सम्बोधन गर्दै उनले भनेका छन्, "रुरुक्षेत्र गाउँपालिका करिब चार दशक अघिदेखि नेकपा एमालेको लालकिल्ला ठहरिदै आइरहेको गाउँपालिका हो। तर अहिलेको चुनावले त्यो लालकिल्ला भत्काइदिएको छ। रुरुक्षेत्रका जनताले गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता यदु ज्ञवालीलाई गाउँपालिका अध्यक्षमा ठूलो जनमत सहित निर्वाचित गराएका छन् ।"
रुरुक्षेत्र नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीको गृहपालिका समेत हो।
लामो समयदेखि सिंहदरबारमा बसेर राज्य गर्दै आउनेहरुले रुरुक्षेत्रलाई ओझेलमा पार्दै आइरहेको र यस् क्षेत्रका जनता दासत्वबाट मुक्त हुन नसकिरहेकोले अब यसको अन्त्य गर्नको लागि रुरुक्षेत्रमा नया जनमत सिर्जना भएको नेता भण्डारी बताए।
रुरुक्षेत्र गाउँपालिका विविध संभावना युक्त हुँदाहुँदै पनि यहाँका जनताले बत्ती मुनिको अँध्यारोबाट कहिल्यै छुटकारा पाउन नसकेकाले जनताले विकल्प खोजेको बताउँदै उनले नव निर्वाचित गाउँपालिका अध्यक्ष र सम्पुर्ण टिमले यो जनमतको कदर गर्दै समृद्ध रुरु बनाउने अभियानमा लाग्ने कुरामा विश्वास व्यक्त गरे।
"नंया सोंचसहित नयाँ विकल्प चाहेका रुरुक्षेत्रका जनताहरुको सुर्यबाट हसिया हथौडामा परिवर्तन भएका मनहरु मंसिर सम्म रुखमा बदलिने छन्" उनले भने।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology