काठमाण्डाै । मन्त्री फेरबदलको आन्तरिक किचलोका कारण नेकपा एकीकृत समाजवादीमा समस्या पैदा भएको छ । बहालवाला मन्त्रीले पार्टीको निर्णय अनुसार मन्त्री पद छोड्न नमान्ने र प्रस्तावित मन्त्रीहरूले जसरी पनि आफुहरूलाई सपथ खुवाइनुपर्ने भन्दै दवाव दिन थालेपछि पार्टीको विधि, प्रक्रियासंगै आन्तरिक एकतामा समेत समस्या सिर्जना भएको हो ।
यसैविच मन्त्रीसहित १० जना सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । मन्त्री फेरबदलको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै उनीहरुले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पत्रमा बजेट अधिवेशन चलिरहेको बेलामा एक्कासी मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न नसकिने उल्लेख छ ।
साथै आफूहरुलाई सरकारबाट फिर्ता बोलाउँदा अपराधीको जस्तो व्यवहार गरिएको टिप्पणी उनीहरूले गरेका छन् ।
स्थायी कमिटीको बैठकमा समेत गठबन्धनमा समस्या भएकाले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत आजै/भोलि नयाँ मन्त्रीलाई शपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब राम्रो मान्न नसकिने पनि पत्रमा उल्लेख छ ।
हिजो बुझाएको आठ बुँदे ध्यानाकर्षण पत्रमा स्वास्थ्यमन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, पर्यटनमन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
साथै सांसदहरु कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरुले पनि मागमा समर्थन जनाएका छन् ।
पार्टीको निर्णयलाई मन्त्रीहरूले चुनौती दिएपछि एकीकृत समाजवादीभित्र विवाद थप बढेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology