राजेश पराजुली, पोखरा । पोखरा उद्योग वाणिज्य संघको २५औं अध्यक्षमा पवनकुमार प्रजापति विजयी भएका छन् । प्रतिस्पर्धी अर्जुन पोखरेललाई ७१६ मतले पराजित गर्दै उनी संघको २५ औं अध्यक्ष बनेका हुन् ।
पवनले १६ सय १३ र अर्जुनले ८९७ मत प्राप्त गरेका हुन। भारी मतान्तरले अध्यक्षमा बिजयी बनेका पवन प्रजापति उधाेगी, व्यवसायी बिचमा अत्यन्त सालिन र सहयाेगी ब्यक्तित्वका रूपमा चिनिन्छन ।
यसअघि पवन प्रजापती संघको वरिष्ठ उपाध्यक्ष र अर्जुन पाेखरेल वाणिज्य तर्फका उपाध्यक्ष रहेका थिए । अघिल्लो चुनावमा एउटै प्यानलमा रहेका उनीहरु ३४ औं महाधिवेशनसम्म आइपुग्दा नेतृत्वको लागि प्यानलसहित आमने–सामने बने चुनावमा पवनले बाजी मारे ।
उद्योग उपाध्यक्षबाहेका सबै पदाधिकारी र साधारण सदस्यतर्फका १० जनामध्ये ७ जना प्रजापति प्यानलकै विजयी भएका छन्। उनीहरूको कार्यकाल २ वर्षको हुनेछ ।
वरिष्ठ उपाध्यक्षमा पनि पवन समूहका गोकर्ण कार्की विजयी बने ।
यसअघि २ कार्यकाल उद्योग उपाध्यक्ष रहेका गोकर्णले १७ सय ७६ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी हरिहर सापकोटाले ७३८ मत मात्र प्राप्त गरेका छन ।
उद्योगतर्फको उपाध्यक्ष देवेन्द्र केसी १७९१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी हीरामणि पण्डितले ७२० मत ल्याए । वाणिज्यतर्फको उपाध्यक्षमा उत्तममान बुद्धाचार्यले ९६९ मत प्राप्तगर्दा उनका निकटतम् प्रतिद्वन्द्वी सोवित पौडेलले ८७८ र अर्की प्रतिस्पर्धी कुमारी मुना बास्तोलाले ६४८ मत प्राप्त गरिन् ।
विजयी बनेका उत्तम पवनको समूहबाट मैदानमा उत्रेका थिए भने सोवित स्वतन्त्र र कुमारी मुना अर्जुनको प्यानलमा रहेकी थिइन् ।त्रिपक्षीय प्रतिस्पर्धा रहेको महासचिवमा पवन समूहका बलराम आचार्यले बाजी मारे । उनले ९१० मत प्राप्त गरे भने निकटतम् प्रतिस्पर्धी केशवबहादुर खत्रीले ८२९ मत ल्याए ।
अर्का प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार तारानाथ ढुंगानाले ७५९ मत प्राप्त गरे ।
कोषाध्यक्षमा १५९९ मतसहित दीनेशचन्द्र बास्तोला विजयी हुँदा प्रतिस्पर्धी हरिराज पन्तले ९०५ मत प्राप्त गरे । उपमहासचिवमा शोभा गौतम १७५५ मतसहित विजयी बनिन् । उनका प्रतिस्पर्धी हर्कबहादुर अधिकारीले ७५८ मत ल्याए ।
कार्यसमिति सदस्यमा प्रभा सुवेदी, बालकृष्ण कोइराला, सुदीप प्रधानाङ्ग, दीलिपकुमार श्रेष्ठ, भरत केसी, कृष्णप्रसाद कोइराला, भीम गौतम, माधव बस्ताकोटी, मनोजकुमार श्रेष्ठ र सुदीप ओझा विजयी बनेका छन ।
यीमध्ये बालकृष्ण, सुदीप र भरत केसी यसअघि पनि कार्यसमितिमा रहेका थिए । दीलिपकुमार, भरत र माधव अर्जुन पोखरेल प्यानलबाट मैदानमा उत्रिएका थिए । कुल १९ जनाले साधारण सदस्यमा उम्मेदवारी दिएका थिए ।
उता, बस्तुगत सदस्यतर्फ जीवनप्रकाश श्रेष्ठ (२७), प्रेमप्रसाद सुवेदी(२७), लेखनाथ सुवेदी(२३) र लीलाधर चपाइ(२२) विजयी बने । उनीहरु क्रमशः फ्लोरिङ एण्ड फर्निचर, कस्मेटिक व्यवसायी संघ, थोक व्यवसायी संघ र खुद्रा तथा किराना व्यवसायी संघको प्रतिनिधित्व गर्दै उम्मेदवार बनेका थिए ।
४ सदस्यको लागि ६ जनाको उम्मेदवारी परेको थियो । भाँडा व्यवसायीबाट कुश कार्की र कपडा व्यवसायीबाट विष्णुप्रसाद तिमिल्सिना उम्मेदवार बनेका थिए । संघका सदस्य रहेका ३० वटा बस्तुगत संघले यी उम्मेदवारलाई मतदान गरेका हुन् ।
एसोसियटमा बन्दना कार्की केसी र रामप्रसाद कँडेल निर्विरोध हुँदा औद्योगिक सदस्यमा युवकबहादुर बस्नेत पनि निर्विरोध भए । संघको शनिबार सम्पन्न निर्वाचनको लागि ३१ सय ४३ जना मतदाता रहेका थिए भने तीमध्ये २५ सय ४९ जनाले मतदानमा सहभागिता जनाएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology