राजेश पराजुली, पोखरा । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको लागि कास्की जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित तीनवटै क्षेत्रको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ।
बिहीबार कास्कीका मुख्य निर्वाचन अधिकृत प्रकाश खरेलले कार्यालयको उद्घाटन गरेका हुन्।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत खरेलले सबैको समन्वय र सहकार्यमा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले निर्वाचनसम्बन्धी सम्पूर्ण क्रियाकलापहरु सर्वसाधरणको आँखाबाट स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित देखिनुपर्ने बताए।प्रदेश निर्वाचन कार्यालय पोखराका निर्वाचन अधिकारी हुमनाथ पराजुलीले बिहीबार गण्डकी प्रदेशअन्तरगतका ४ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको जानकारी दिए।
कास्कीको तीनवटा क्षेत्रअन्तरगत कास्की जिल्ला क्षेत्र नम्बर १ को लागि पशु सेवा निर्देशनालय परिसर रामघाट पोखरा,क्षेत्र नम्बर २ को लागि पोखरा सभागृह हल परिसर र क्षेत्र नम्बर ३ को लागि जिल्ला समन्वय समिति कास्कीको परिसर शहीदचोकमा कार्यालय स्थापना भएको छ।
निर्वाचन कार्यतालिका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम हुँदैछ। मनोनयन दर्ताको लागि आवश्यक पर्ने सम्पूर्ण तयारी सम्पन्न भएको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology