कविता: चरित्र
घाँटीमा नीलो डाम
तन्किएको शरीर
खुल्ला आँखा
भुतलिएको कपाल
च्यातिएका कपडाहरु
धुलोले लतपत भएको शरीर
शरीरमा हातका डामहरु
बक्षस्थलमा नग्राले
चिथोरिएका दांगहरु
खोलिएको सुरुवालको ईजार
सुरुवालमा लागेका
रगतका टाटाहरू
डोरीमा झुण्डिएको शरीर
मानिसहरूको भीडभाडको बीचमा
बहुलाई जस्तै हिड्थी मरिछ भन्नेहरु
बाटोमा हिँड्दा लखेट्नेहरु
मृत्युपछि प्रसंशा गर्दै
तस्बिर खिच्ने होडबाजीमा
फेसबुकमा तस्बिर पोस्ट्यौउँदै
बाँचुन्जेलका अपराधीहरू
मरेपछि संवेदनाका वाहक बन्दै
बाँच्दा लखेट्नेहरु
मर्दा रुनेहरुको बीचमा
बाँच्न खोज्दा ओँठमा टोकिएका ती घाउहरू
बक्षस्थलमा च्यातिएका कपडाहरु
ईजार फुत्काई रमाउँदा लागेका रगतका
टाटासगै सन्तुष्टि लिने
अपराधीलाई बाँच्ने आधार बनाउँदै
कुकर्मलाई पासोसंग बेच्दै
बाँचुन्जेल मात्र होइन्
मृत्युपछि लाससंग खेल्दै
बलत्कारी मात्र होइन
पुरै समाज अपराधी बन्दै
बाँचुन्जेल नदेखिएका
मानिसहरुको झुण्ड मलामीको रूपमा
मसान घाटमा धुवाँसंगै
मानवीय चरित्र उडाउँदै ।
- नारायण कोइराला
तानसेन, पाल्पा
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology