देवदह । देवदह नगरपालिका वडा नं ५ को सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको सेवा प्रवाह, कार्यक्रम तथा आगामी योजनाबारे वडा कार्यालयले शुक्रबार सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो। यो संगै देवदह नगरपालिकाका १२ वटा वडामध्य सार्वजनिक सुनुवाई सम्पन्न गर्ने देवदह-५ पहिलो वडा बनेको छ।
देवदह नगरपालिका प्रमुख धुर्व प्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ समेतको उपस्थितिमा आयोजित कार्यक्रममा वडा अध्यक्ष गणेश डुम्रेले वडा कार्यालयको अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेका थिए। जसअनुसार वडा कार्यालय अन्तरगतका ९० प्रतिशत योजना सम्झौता भैसकेको तथा अन्य योजना सम्झौता हुने क्रममा रहेको जनाईएको छ।
वडा अध्यक्ष डुम्रेका अनुसार कार्यालयले सम्पन्न गरेका कार्यक्रम अन्तरगत कृषि तथा पशु सेवा तर्फ एसियाली विकास बैंकको सहयोगमा २० जनालाई जयन टेक्निकल कलेजमा पशु सहायक तालिम दिईएको, ५ दिने कृषि अवलोकन कार्यक्रम लगायत पशुसेवा कार्यालयबाट हुने सम्पूर्ण नियमित सेवा वडा कार्यालयले दिएको छ । त्यसैगरि महिला बालबालिका र जेष्ठ नागरिक तर्फ ८६ जनालाई नेतृत्व विकासको तालिम, ७ वटा टोलमा बाल क्लब र बालसंजाल गठन तथा ७ जना अशक्त महानुभावलाई ह्विल चेयर वितरण गरिएको उल्लेख छ। शिक्षा तर्फ अभिभावकविहिन र अति विपन्न बालबालिकालाई शिक्षाको पहुँच सुनिश्चित गर्न तथ्यांक संकलन गरि नगरपालिकामा पेश गरिऎको लगायत अन्य विभिन्न शिर्षकमा सम्पन्न भएका कार्यक्रमको विवरण पेश गरिएको थियो।
वडा कार्यालयले १५ लाख ३१ हजार ८ सय ६९ रुपैंया राजस्व संकलन गरेको तथा वडा कार्यालयबाट विभिन्न शिर्षकमा १ लाख २७ हजार खर्च भएको विवरण समेत वडा कार्यालयले सार्वजनिक गरेको छ।
सो अवसरमा कार्यक्रममा सहभागीहरूले आफुलाई लागेका जिज्ञासा तथा सुझाब वडा अध्यक्ष र वडा अन्तरगतका कार्यालयका प्रतिनिधिहरूसमक्ष राखेका थिए। जसको जवाफ सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधिले दिएका थिए।
कार्यक्रममा वडा अध्यक्षसहित वडा सदस्यहरु, वडा सचिव, प्राबिधिक प्रमुख, राजस्व प्रमुख, नगर अस्पताल प्रमुख डिलेस्वर श्रेष्ठ, नगरपालिकाका शिक्षा अधिकृत पर्शुराम ढकाल, खानेपानीका गुमानसिंह कुवर, चक्रपानी न्यौपाने र अनिता कुवर, बुद्ध सामुदायिक वनका टेक बहादुर राना, देवदह प्रहरी चौकीका बुद्धि बहादुर थापा, बिमा अभिकर्ता विकास गहतराज, लायन्स क्लब अफ देवदहका बिष्णु प्रसाद ज्ञवाली, विद्युत कार्यालय शितलनगरका अर्जुन ढकाल लगायतका संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरू सहभागीको प्रश्नको जवाफका लागि कार्यक्रममा उपस्थित भएका थिए।
वडा कार्यालय परिसरमा सम्पन्न कार्यक्रममा सार्वजनिक सुनुवाईसंगै बालमैत्री वडा संकल्प तथा वडाको रणनीतिक योजना निर्माण समिति समेत गठन गरिएको छ। बालमैत्री वडा संकल्प पत्रमा नगर प्रमुख धुर्ब प्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङले लगायतले हस्ताक्षर गरेका छन् ।
देवदह प्रेस क्लबको सहजीकरणमा सम्पन्न कार्यक्रमको संचालन क्लबका उपाध्यक्ष सुशिल सापकोटाले गरेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology