देवदह । देवदह नगरपालिकाका नगर प्रमुख धुर्व प्रसाद खरेलले देवदहमा जसको कोहि छैन, त्यसको अभिभावक नगरपालिका भएको बताएका छन्। बिहिबार उप-प्रमुखसंग महिला कार्यक्रम अन्तरगत सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको लागि आयोजित क्षमता विकास तालिममा बोल्दै प्रमुख खरेलले नगरपालिकाले आर्थिक रूपमा कमजोर रहेका नगरबासीलाई सहज रूपमा निशुल्क स्वास्थ्य विमा उपलब्ध गराएर नगरपालिकाले अभिभावकत्व लिने बताएका हुन्।
स्वास्थ्य स्वयंसेविकाहरूले समाजका हरेक तह र तप्कामा रहेका नगरवासीलाई निशुल्क सेवा दिएर नगरपालिकाको स्वास्थ्य क्षेत्रको विकासमा योगदान पुर्याएको उल्लेख गर्दै स्वयंसेविका आफु जलेर समाजलाई उज्यालो दिइरहेको धारणा व्यक्त गरे ।

उपयुक्त समयमा नगरपालिकाले स्वास्थ्य स्वयंसेविकाको कामको मुल्यांकन गर्दै सम्मान र पुरस्कृत गर्दै आएको उल्लेख गर्दै प्रमुख खरेलले देवदह नगरपालिकाको नगर सभाले स्वयंसेविकाको स्वास्थ्य विमा निशुल्क गर्ने निर्णय गरेको जानकारी गराए। उनले भने, "हामीले अलिकति भएपनि स्वयंसेविकालाई राहत होस् भनेर नगर सभाबाट स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य विमा निशुल्क गर्ने निर्णय गरेका छौं। त्यसको कार्यान्वयन हामी भोलिदेखि गर्दैछौं।"
त्यसैगरी कार्यक्रममा बोल्दै नगर उप-प्रमुख विद्यालक्ष्मी गुरुङ्ले स्वास्थ्य स्वयंसेविका नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड भएको बताइन। स्वास्थ्य स्वयंसेविकले निस्वार्थ रूपमा घरघरमा पुगेर स्वास्थ्यलाई समुदायसंग जोडेको बताउंदै उप-प्रमुख गुरुङले स्वास्थ्य स्वयंसेविकाको कामको प्रशंसा गरिन। १२३ औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा सधै झैँ उप-प्रमुखसंग महिला कार्यक्रम अन्तरगत महिलाई स्वास्थ्य स्वयंसेविकालाई तालिम दिन लागिएको उल्लेख गर्दै उप-प्रमुख गुरुङले तालिममा १८ जना स्वास्थ्य स्वयंसेविकालाई सम्मान समेत गरिने जानकारी दिईन।
दुई दिनसम्म संचालन हुने उक्त तालीमको उद्घाटन कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख काशिनाथ बन्जाडे, स्वास्थ्य निरीक्षक गिरि तरामु लगायतले बोलेका थिए।
तालीममा देवदह नगरभित्र कार्यरत ९७ जना स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहने जनाइएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology