३ असार एजेन्सी- युरोप फुटबलमा आज पनि तीन खेल हुँदैछन् । समूह चरण अन्तर्गत आज समूह ‘सी’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ ।
पहिलो खेलमा युक्रेन र नर्थ म्यासेडोनिया साँझ ६:४५ बजे भिड्नेछन् । युक्रेन र म्यासेडोनिया दुबै टोली पहिलो जित निकाल्ने योजनामा छन् । पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३-२ गोलले पराजित भएको थियो भने नर्थ म्यासेडोनिया अष्ट्रियासँग ३-१ ले पराजित भएको थियो ।
त्यसैगरी दोस्रो खेल समूह ‘बी’ अन्तर्गत बेल्जियम र डेनमार्कबीच खेल हुन्छ । आज राति ९:४५ बजे हुने खेलमा बेल्जियम लगातार दोस्रो जित निकाल्ने योजनामा छ भने डेनमार्क पहिलो जितको आशामा छ । पहिलो खेलमा बेल्जियमले रुसलाई ३-० ले हराएको थियो भने डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको थियो ।
त्यसैगरी आजनै हुने तेस्रो खेलमा नेदरल्यान्ड्स र अष्ट्रिया प्रतिस्पर्धा गर्नेछन । समूह ‘सी’ मा रहेका यि दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा नेदरल्यान्ड्सले युक्रेनलाई ३-२ ले हराएको थियो । पहिलो खेलमा अष्ट्रियाले नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको थियो । आजको खेलमा नेदरल्यान्ड्स र अष्ट्रिया दुबै लगातार दोस्रो जित निकाल्ने योजनामा छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology