१५ असार एजेन्सी- क्रोएसियालाई अतिरिक्त समयमा हराउँदै स्पने युरोकप २०२० को क्वाटरफाइनलमा पुगेको छ ।
कोपनहेगनमा गएराती सम्पन्न प्रि-क्वाटरफाइनलको खेलमा क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोलले पराजित गर्दै स्पेनले अन्तिम आठमा स्थान बनाएको हो । यसअघि विश्वकपको दुई संस्करण र युरो २०१६ मा स्पेनले अन्तिम ८ को यात्रा गर्न सकेको थिएन ।
रोमान्चक खेलमा स्पेनलाई जित दिलाउन पाब्लो सराबिया, सिजर अज्पिलिकुइटा, फेरान टोरेस, अल्भारो मोराटा र मिकेल ओयार्जाबलले एक एक गोल गरे ।
क्रोएसियाका मिस्लाभ ओर्सिच र मारियो पासालीचले एक/एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।
स्पेनका मिडफिल्डर पेड्रीले मैदानको बीच भागबाट आफ्नो गोलरक्षक उनाइ सिमोनलाई दिएको पास गोल भएको थियो । बुस्केट्सको लामो पास गोलरक्षक सिमोनको ठिक अगाडी झर्दा उनको बल रोक्ने प्रयास खुट्टालाई छुँदै पोस्टमा छिरेको थियो । युरोपियन च्याम्पियनसिपमा आत्मघाती गोल गर्ने उनी चौंथो गोल किपर हुन् भने युरोको यस संस्करणमा यो नवौं आत्मघाती गोल हो ।
निर्धारित समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । ३० मिनेटको अतिरिक्त समयमा स्पेनले दुई गोल गर्यो ।
खेलको १ सयौं मिनेटमा मोराटाले सुन्दर गोल गर्दै स्पेनलाई पुन: अग्रता दिलाए । अग्रता लिएको तीन मिनेटपछि नै स्पेनले अग्रता दोब्बर पार्यो । मिकेल ओयाराज्बालले पेनाल्टी क्षेत्रभित्र संयमित रहेर फिनिस गर्दै ५-३ ले अघि बढाएका थिए ।
क्रोएसिया बाहिरिएसंगै स्पेन क्वाटरफाइनलमा पुग्ने पाँचौं टिम बनेको छ । अब स्पेनले क्वाटरफाइनलमा फ्रान्स र स्विट्जरल्यान्डबीच हुने खेलको विजेतासँग खेल्नेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology