देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ४ मा अवस्थित महामाया भवानी माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरू संगठित भएका छन्। शनिबार विद्यालयकै पहलमा आयोजित भेलाबाट विद्यालयका पुर्व विद्यार्थीहरू संगठित भएका हुन्।
नवगठित पुर्व विद्यार्थी समाजको अध्यक्षमा झबिन्द्र प्रसाद पाण्डेय चयन भएका छन्। विक्रम सम्बत २०३९ सालमा सोहि विद्यालयबाट एसएलसी परिक्षा उत्तीर्ण गरेका पाण्डेय पुर्व विद्यार्थी समाजको संस्थापक अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । जसको उपाध्यक्षमा गुमानसिंह कुँवर, सचिवमा निलराज बस्याल, सहसचिवमा एलिना हमाल र कोषाध्यक्षमा हरि प्रसाद भण्डारी तथा सदस्यहरूमा बाबुराम विक, कल्पना सुवेदी, सुनिता लामिछाने, विनोद उदय, यमलाल पाण्डेय र छवि भट्टराई रहेका छन्।
साथै, भेलाले नवगठित समितिको सल्लाहकार समिति समेत चयन गरेको छ। जसको संयोजकमा हरि प्रसाद पाण्डेय र सदस्यहरूमा छबिलाल घर्ती जीसी, ऋषेश्वर अर्याल, सोमनाथ गिरी र प्रमोद खनाल रहेका छन्।
नवनिर्वाचित समिति तदर्थ समिति रहको र यसले संस्था दर्ता प्रक्रिया टुंग्याउने, नयाँ सदस्यता थप गर्ने लगायतका कार्य सम्पन्न गरि अधिवेशनबाट कार्यसमिति निर्माण गर्ने जनाईएको छ।
भेलामा देवदह-४ का वडा अध्यक्ष दमननाथ रेग्मी, देवदह-८ का वडा अध्यक्ष हरि प्रसाद पाण्डेय लगायतले बोल्दै विद्यालयमा अध्ययन गरेर हाल देश तथा विदेशमा रहने पुर्व विद्यार्थीहरू जोड्न र विद्यालयको थप विकासमा पुर्व विद्यार्थीहरूको साथ, सहयोग र सुझाब-सल्लाह लिन पुर्व विद्यार्थी समाज महत्वपुर्ण संस्था बन्ने धारणा व्यक्त गरेका थिए।
सो अवसरमा विद्यालयका प्रधानाध्यापक ऋषेश्वर अर्यालले भेलाको औचित्य र पुर्व विद्यार्थी समाजको महत्वबारे चर्चा गरेका थिए। कार्यक्रममा पुर्व विद्यार्थीहरू प्रमोद खनाल, यमलाल पाण्डेय, अर्जुन शर्मा लगायतको उपस्थिति रहेको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबिलाल घर्ती जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक निल बस्यालले गरेका थिए।
विक्रम सम्बत २०२७ सालमा स्थापना भएर २०३९ सालमा पहिलोपटक एसएलसी परिक्षामा विद्यार्थी सहभागी गराएको महामाया भवानी माविमा बाल कक्षादेखि कक्षा १२ सम्म अध्यापन हुने गर्दछ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology