कविता : इतिहासको कठघरामा उभिएर ...
अन्ततः त्यो एकदिन जरुर आउनेछ
सुखद शुरूवातसहित हाम्रोलागि विशेष महत्त्वपूर्ण
अद्वितीय उपलब्धिको चामत्कारिक स्वरुप लिएर ... ।
जुनदिन, जवर्जस्ती जित्नेहरुको नाममा
अहिलेसम्म लेखिदै आएको झुटो इतिहासका
मनगढन्ते - कपोलकल्पित - हावादारी -
बकम्फुसे कुतर्कहरुको सप्रसङ्ग व्याख्यासहित
सुनियोजित रूपमा तयार गरिएका ठेलीहरु
मिल्क्याइनेछ र लेखिनेछ - सुनौलो अक्षरमा
हराइएकाहरुको नाममा यथार्थ इतिहास ।
हराइएकाहरुको नाममा सर्वप्रथम लेखिएको
सोही यथार्थ इतिहासको कठघरामा उभिएर -
दिनुपर्नेछ जवाफ तिमीहरूले साना बाबुनानीहरुलाई
समुज्ज्वल भविष्यको सुन्दर सपना देखाएर
सुनिश्चित गन्तव्यमा पुर्याइदिने बैकल्पिक बाटो पहिल्याउदै
पृथक पाइलाहरु चालेर सदैव अगाडि बढ्नुपर्ने कुरा
सिकाउनैकालागि स्कुल गएको निर्दोष बाबू
अझैसम्म पनि घर फर्केर आउन किन पाइरहेको छैन ?
स्कुले नानीबाबुहरु शीतल छहारीमा बसेर
भाडाकुटी खेल्दाखेल्दै अनाहकमा किन मारिए ?
उमेर पुगेका छोरी - चेलीहरुलाई आधारातमा ओछ्यानबाटै
वृद्ध आमा - बुबाको काखबाट कसले - किन खोसेर लगेको थियो
र , कहाँ - के गरेर राखिरहेको छ अहिलेसम्म ?
भालेको पहिलो डाकसङ्गै पधेरोमा गएका बुहारीहरु
अधेरीमा पधेरीको पानीसङ्गै करादीखोलामा मिसिएर
आधिखोलाको बाटो हुँदै कालीगण्डकीमा बग्दै - बग्दै
कुन सागरमा कसरी विलीन भए ?
भैंसी दुहुने अलिकति घाँस काट्छु भनेर
कम्युनिस्टको झण्डाझैँ रातो चम्किलो ताराजस्तै लाग्ने
सौभाग्यको टिको लगाएर निधारमा
कम्युनिस्टको झण्डामै अंकित हसिया हातमा लिएर
डहरमुनिको बारीतिर झरेका आमाहरु ,
हथौडा हातमा बोकेर साझ - बिहान
हातमुख जोर्नकैलागि गिटी कुट्ने क्रममा
आधिखोला तरेका ठुलीआमाहरु
कोही सुराकी कसरी भए ?
कसैलाई आतंककारी बनाएर किन गाडियो ज्युदै बगरमा
अधकल्चो पारी एकमुट्ठी परान फुस्किन नपाउदै ?
सुकुमारी किशोरीहरु बैंसालु यौवनसङ्गै
अनुहारमा उमेरको लाली चढेर खुशीको कोपिला
फक्रीन नपाउदै किन मुर्झाउन बाध्य भए -
नुन खाएको कुखुरो जस्तै ?
यो देशको भविष्यका कर्णधार भनिएका
नौजवान युवाहरु , कसैको हात छैन ,
कसैको खुट्टा छैन , कसैको आँखा छैन , किन ?
परिश्रमको पसिना बगाएर गरिखाने हात
स्वाभिमानका साथ शिर ठाडो बनाएर
अन्तिम गन्तव्य चुम्न आतुर भइरहेको
बैकल्पिक बाटोमा पृथक पाइला चाल्ने खुट्टासङ्गै
हाम्रो जीवनको अमुल्य ज्योति कसले - किन खोस्यो ?
छोरालाई मारेर गुहेखोल्सोमा कसले - किन फाल्यो ?
अनाहकमा सन्तान गुमाएकि बुढी आमाको
अहिलेसम्म नखुलेको होस कहिले खुल्छ ?
बूढो बाबुलाई आफ्नै थर्थराइरहेका हातले
जवान छोराको चितामा दागबत्ती दिन किन बाध्य पारियो ?
आफ्नै पतिको अगाडि सामुहिक बलात्कारको
असह्य अकल्पनीय पीडा भोग्न विवश पत्नीले
अविरल नुनिलो आँसु पिउदै अझै कतिन्जेल ज्युनुपर्ने हो ?
न्यायालयको मुलढोका भित्रैबाट हराएका भुइँमान्छेहरु
कहिले - कहाँ - कस्तो अवस्थामा कसरी भेटिन्छन् ?
भैरवनाथको अँध्यारो छिडी र आँखै अगाडि गरिएको
प्रिय साथीको बर्बर हत्याले कति सपनाहरूमा
बारम्बार आएर तर्साइरहने हो - अझै कहिलेसम्म ?
गुरुको गला रेट्नेहरुले
आजीवन जेलको चिसो हावा
कहिलेदेखि खान शुरु गर्नेहुन् ?
दुवै घुडाको जोर्नीमा हम्मर हान्नेहरुले
हदैसम्म सजायको भागिदार भएर
अपराधबोधले तड्पिदै कहिलेदेखि
पश्चातापमा ज्युदै जलेर मर्नेछन् ?
पीडकहरुले नै भगेरे छाती फुलाएर
राजनीतिक मञ्चको अग्रासनमा आसनग्रहण गरिरहेको
टुलुटुलु हेरिबस्नुपर्ने हो पीडितहरुले अझै कहिलेसम्म ?
सरकारी नियुक्ति लिएर सर्वदलीय सहमतिमा पीडकहरुले
जनताको दुहाई दिदै लोकतान्त्रिक गणतन्त्रको बारेमा
प्रवचन दिएको सुनिरहनुपर्ने हो पीडितहरुले अझै कहिलेसम्म ?
जिर्ण शरीरभित्र भोको पेट लिएर
अविरल अश्रुधारा पिएर मलिन मुहारमा
मौन बसिरहेका पीडितहरुको अगाडि आएर
आततायी पीडकहरुले अपराधबोध कहिले गर्छन् ?
पीडितहरुको कलेटी परेको ओठबाट हराएको
मुस्कान फेरि फर्किएर कहिले कसरी आउँछ ?
कसैको हड्डी हिनाएर , कसैको घाँटी छिनाएर
निर्दोष भुइँमान्छेहरुलाई अमानवीय यातना दिनैकालागि
अचानो बनाएर ढुङ्गालाई त्यसैमाथि दुवै घुडा राखेर
अजङ्गको घन बजार्नुपर्ने फैसला कार्यान्वयन गर्ने
मानवरुपी नरपिसाच दानव न्यायाधीशहरु ! खबरदार !
अन्ततः त्यो एकदिन जरुर आउनेछ -
सुखद शुरूवातसहित हाम्रोलागि विशेष महत्त्वपूर्ण
अद्वितीय उपलब्धिको चामत्कारिक स्वरूप लिएर ।
जुनदिन , पराजित भुइँमान्छेहरुको नाममा लेखिएको
अर्थपूर्ण इतिहासको कठघरामा उभिएर तिमीहरूले
एक - एक गरि दिनुपर्नेछ चित्तबुझ्दो जवाफ समयलाई ।
- मिलन समीर, करादीखोला, स्याङ्जा ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology