देवदह । देवदह नगरपालिका वडा नं. ५ ले वडाको बाल प्रोफाइल तयार गरेको छ। वडा अन्तरगतका २१ वटै टोलविकास संस्थाबाट तथ्यांक संकलन गरेर बाल प्रोफाइल तयार गरिएको वडा कार्यालयले जनाएको छ।
देवदह-५ को बालबालिकाको स्वास्थ अवस्था, खोप, पोषण, विद्यालय भर्ना, बालबिवाह, बालश्रम लगायतका विभिन्न ५१ सुचकको अवस्थाको बास्तबिक तथ्यांक सहित बाल प्रोफाइल तयार गरिएको वडा अध्यक्ष गणेश डुम्रेले जानकारी दिए। २१ वटै वडामा तथ्यांक संकलनकर्ता खटाएर, टोल विकास संस्था, आमा समुह, सामुदायिक तथा संस्थागत विद्यालय समेतको उपस्थितिमा तथ्यांक अपडेट गरि प्रोफाइल तयार गरिएको नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष डुम्रेले बताए ।
बालमैत्री वडास्तरिय समितिको मंगलबार बसेको बैठकले बालमैत्री स्थानीय शासन राष्ट्रिय अभियन्ता शर्मिला पौडेलको संयोजनमा तयार भएको वडा बाल प्रोफाइल सार्वजनिक गरि विभिन्न सुचकको बारेमा छलफल र आगामी कामको सन्दर्भमा योजनाबद्ध खाका तयार पारेको वडा सचिव प्रदिप गौतमले जानकारी दिए।
बैठकले आगामी फाल्गुन २ गते बालमैत्री वडा घोषणा गर्ने गरि पूरा गर्नुपर्ने सम्पुर्ण सुचकको कामको जिम्मेवारी बाडफाड गरेको छ। जसको लागि ४ जना वडा सदस्यको संयोजकत्वमा समुदाय स्तरीय बालमैत्री समिती गठन दुई दिनभित्र गर्ने, वडा स्तरीय फोकल पर्सन वडा सचिव तथा समितिका सदस्य सचिव प्रदिप प्रसाद गौतमलाई जिम्मेवारी दिने निर्णय गरेको जनाईएको छ।
त्यसैगरी बालमैत्री आचारसंहिताको तयारी, सुचकको स्थानीयकरण, बालमैत्री सुचक, लगानी योजनाको तयारी भाद्र मसान्तसम्म सक्ने र भाद्र २२ र २३ गते बालबालिकाको नेतृत्व विकास तथा बालमैत्री अवधारणा कार्यान्वयन सम्बन्धि तालिम संचालन गर्ने निर्णय भएको अध्यक्ष डुम्रेले बताए।
बैठकमा वडाका सम्पुर्ण जनप्रतिनिधिहरु, विद्यालयका प्रधानाध्यापक, टोल विकास संस्थाका अध्यक्ष, महिला स्वास्थ्य स्वयं सेविका, नगर अस्पताल प्रतिनिधि, नगर बाल संजाल अध्यक्ष, वडा बाल संजाल सचिव लगायतको उपस्थिति रहेको थियो।
हेर्नुहोस देवदह - ५ को बाल प्रोफाइल :
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology