नविन लुइँटेल, देवदह । देवदह नगरपालिकाले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गरेमा उपहार दिने कार्यक्रमको सुरुवात गरेको छ । मंगलबार एक कार्यक्रमबीच नगरपालिकाको वडा नं ५ बाट 'बेबी केयर गिफ्ट' कार्यक्रमको सुरुवात गरिएको हो ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जन्मदर्ता, मृत्युदर्ता जस्ता गतिविधि समयमा नै दर्ता गर्नुपर्ने बताए । समयमै जन्मदर्ता गराइएन भने राज्यले तोकेको जरिवाना समेत तिर्नुपर्ने तथा विविध झन्झट आइपर्ने भएकोले उनले सबैलाई समयमा जन्मदर्ता गराउन अनुरोध गरे । देवदहलाई बालमैत्री नगर बनाउन अघि बढेको र बालमैत्री शासनको सुचकमध्य १ सुचक समयमा जन्मदर्ता रहेकोले समयमै जन्म दर्ता बालबालिकाको अधिकार समेत रहेको बताए ।
सोही कार्यक्रममा बोल्दै नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष गणेश डुम्रेले समयमै बालबालिकाको जन्मदर्ता गराएर बालबालिकाको नैसर्गिक अधिकारको सम्मान गर्न अनुरोध गरे । समयमै जन्मदर्ता नगराईदा पछि बच्चाले अनेक झन्झटको सामना गर्नुपर्ने भएकोले बालमैत्री स्थानिय शासनकै एउटा महत्वपूर्ण अभियानको रूपमा देवदहका सबै वडामा अभियान संचालन हुने उल्लेख गर्दै उनले वडा नम्बर ५ बाट अभियानको औपचारिक सुरुवात भएको बताए ।
"समयमै जन्मदर्ता कानुनी आधार, बालबालिकाको स्वस्थ्यको लागि उपहार" नारा दिईएको उक्त अभियान अन्तर्गत समयमै जन्मदर्ता गर्ने अभिभावकलाई 'हिमालय ब्राण्डको हेप्पी बेबी गिफ्ट प्याक' निशु;क प्रदान गरिएको छ ।
चालु आर्थिक वर्षमा यस अभियानको लागि नगरपालिकाले पाँच लाख बिनियोजन गरेको छ । 'बेबी केयर गिफ्ट' अभियानले कम्तिमा थप ३५ प्रतिशत बालबालिकाको जन्मदर्ता समयमै हुने लक्ष्य नगरपालिकाले लिएको छ ।
कार्यक्रमको संचालन देवदह नगरपालिकाका वडा नं ५ का सचिव प्रदिप पौडेलले गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology