बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन परिवारले एक विद्यालयलाई करिव दश रोपनी जग्गा दान गरेको छ । शेरचन परिवारका दश दाजुभाईले आफ्नो जन्मथलो म्याग्दीको मालिका गाउँपालिका-४ मा रहेको ओखरबोट माध्यमिक विद्यालयलाई नौ रोपनी तीन आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा दान गरेका हुन् ।
नेपाल सरकारको मापदण्ड अनुसार ४४ लाख ७७ हजार मूल्य कायम भएको जग्गा शेरचन परिवारले निशूल्क उपलब्ध गराएको विद्यालयले जनाएको छ
। शेरचन परिवारले निशुल्क जग्गा सहित थप तीन लाख ३५ हजार ७७७ राजस्व र पाँच हजार लेखापढी व्यवसायीको शूल्क पनि आफैले व्यहोरेको ओखरबोट माविका प्रधानाध्यापक नविन कार्कीले जानकारी दिए ।
हाल विद्यालय रहेको ठाउँ पहिरोको जोखिममा परेपछि स्थानान्तरणका लागि शेरचन परिवारद्वारा जग्गा दान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक पुनले बताए ।
विद्यालयका संस्थापक स्व. उमादेवी शेरचनका श्रीमान बडीबहादुर शेरचनका छोरा, छोरी तथा बुहारीहरुले सो जग्गा दान गरेका हुन् । जग्गा दाता शेरचन परिवारको पुख्यौली थलो ओखरबोट हो ।
वि.स. २००८ मा स्थापना भएको उक्त विद्यालयमा २११ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा १० सम्मको पठनपाठन हुने गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology