नविन लुँइटेल, देवदह । जेष्ठ नागरिक, शारीरिक रूपमा अशक्त र एकल महिलाहरूले सामाजिक सुरक्षा कार्ड नविकरणको लागि सास्ती खेप्नुपरेका समाचार आइरहेको अवस्थामा देवदहमा भने फरक अभ्यास गरिएको छ । नेपाल सरकारले आर्थिक वर्ष २०८१/२०८२ का लागि साउनदेखि भदौ मसान्तसम्म सामाजिक सुरक्षा भत्ताको परिचयपत्र (कार्ड) नविकरण गर्ने अभियान सुरु गरेसंगै देवदह नगरपालिका वडा नं ५ का जनप्रतिनिधि र कर्मचारी टोलटोलमा पुगेर कार्ड नवीकरण गरिरहेका छन् ।
"गत वर्षदेखि नै टोलटोलमा पुगेर सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्ने कार्य सुरू गरिएको हो । यो वर्ष सामाजिक सुरक्षा कार्ड नवीकरणसंगै जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण पनि गरिरहेका छौं ।" देवदह नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष गणेश डुम्रेले भने, "प्रजातन्त्र र संघीयता भनेकै शक्ति र सेवाको विकेन्द्रीकरण र समानुपातिक वितरण हो । देश संघीयतामा गएर तीन तहको सरकारले काम गरिरहेको अवस्थामा नागरिकले आफ्नै घर आगनमा सरकार र सरकारले दिने सेवा प्राप्त गर्नुपर्छ भन्ने मान्यता अनुसार टोलटोल र घरघरमा सेवा दिइरहेका छौं ।"
अशक्त र शारीरिक रूपमा अपाङ्ग तथा दिर्घरोग र टोलकै पायक पर्ने ठाउँमा आउन नसक्नेहरुको लागि घर घरमै पुगेर कार्ड नवीकरण र स्वास्थ्य परिक्षण गरिने वडा अध्यक्ष डुम्रेको भनाइ छ ।
वडा नं ५ ले टोलटोलमा नविकरण अभियान र स्वास्थ शिविर सुरु गरेकोपछि स्थानियहरु पनि दङ्ग छन् । देवदह-५ का ९३ वर्षिय जेष्ठ नागरिक सशीधर शर्माले टोलमै वडा कार्यालयको सेवा पाएकोमा खुसी लागेको बताए । "यो घाममा हामी जानुपर्थ्यो, उहाँहरू नै आउनुभयो । लाइनमा बस्नु परेन, उत्तिखेरै काम भयो खुसी लागेको छ ।" उनले भने । त्यसैगरी प्रगतिबजारकी ७४ वर्षिया नन्दी तिवारी, शान्तिटोलकी ७३ वर्षिय देउकला तिवारी, ८४ वर्षिय टिकाराम पौडेल लगायतले वडा कार्यालयको कामको प्रशंसा गरे । वडा कार्यालयले जेष्ठ नागरिक, एकल महिला र शारीरिक रूपमा अपाङ्ग भएकाहरूलाई न्याय गरेको उनीहरूको भनाइ छ ।
वडा कार्यालयले टोलटोलमा पुग्नेबारे सूचना नै सार्वजनिक गरि तालिका बनाएर काम गरिरहेको छ ।
अभियानमा वडाका जनप्रतिनिधि, कर्मचारी र देवदह नगर अस्पतालका स्वास्थ्यकर्मीको सहभागीता रहेको छ ।

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology