देवदह । देवदहमा तीजको दर खाने कार्यक्रममा सहभागी ३५ जना विरामी परेका छन् । बुधबार रूपन्देहीको देवदह नगरपालिका वडा नं ६ स्थित स्थानीय साहारा आमा समूहले आयोजना गरेको दरखाने कार्यक्रममा सहभागीलाई फुड प्वाइजन भएको जनाइएको छ ।
फुड प्वाइजन देखिएपछि दर खाने कार्यक्रममा सहभागी ३५ जना विरामी भएको वडा नं ६ का वडा अध्यक्ष खेम बहादुर थापाले जानकारी दिए । "पाँच जना पुरुषसहित दरखाने कार्यक्रममा सहभागी ३५ जनामा स्वास्थ्य समस्या देखिएपछि स्थानीय गिरी मेडिकल हालमा पठाइएको हो ।" उनले भने, "केही निको भइसक्नु भएको छ भने केही निको हुने क्रममा हुनुहुन्छ ।"
गिरी मेडिकलमा उपचार गर्न आएका मध्ये ३ जनालाई थप उपचारको लागि भलुही मेडिकल कलेज पठाईएको मेडिकल संचालक अनिता गिरीले सेतोमसीलाई जानकारी दिइन् । उनले भनिन्, "विरामीलाई फुड प्वाइजन देखिएको हो, सबैको उपचार गरिएकोछ । थप उपचारको लागि ३ जनालाई देवदह मेडिकल कलेज, भलुही पठाइएको छ ।"
आमा समुहका सदस्य र बालबालिकासहित ४०-४५ जना दरखाने कार्यक्रम सहभागी भएको र अधिकांश विरामी भएको सहारा आमा समुहका अध्यक्ष सरिता थिङ्गले सेतोमसीलाई बताइन् । गाउँमै स्थानीय स्तरमा सबैले मिलिजुली खाना बनाएर दर खाएको भएपनि के कारण सबैजना विरामी हुन पुगे भन्ने पुष्टि हुन नसकेको उनको भनाइ छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology