देवदह । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बुटवल-नारायणगढ सडक निर्माणमा ढिलाई नगर्न आग्रह गरेका छन् । १११औं विपीजयन्तीको अवसरमा नेपाली कांग्रेस क्षेत्रीय समिति रूपन्देही क्षेत्र नं १ ले आयोजना गरेको वक्तृत्वकला कार्यक्रमलाई सम्बोधन गर्दै नेता शर्माले प्रधानमन्त्रीलाई बुटवल-नारायणगढ सडकखण्डमा यात्रा गर्न आग्रह गरे ।
"एउटा अन्तराष्ट्रिय कम्पनीले निर्माण गरिरहेको यो सडकमा यात्रा गर्ने क्रममा मैले निकै अफ्ठेरो महसुस गरें ।" उनले भने, "यो सडक निर्माणमा ढिलाई गरिनु हुन्न । प्रधानमन्त्री केपी शर्मा ओली ज्यूलाई म यस सडकमा यात्रा गर्न अनुरोध गर्दछु ।"
फरक प्रसंगमा बोल्दै महामन्त्री शर्माले विकासको सुरूवात विपी कोइरालाले गरेको बताए । त्रिभुवन विश्वविद्यालय लगायतका आधुनिक विकासका कार्य नेपाली कांग्रेसकै कारण भएको उल्लेख गर्दै उनले देशको विकास गर्न सक्ने पार्टी नै नेपाली कांग्रेस भएको दावी गरे ।
कार्यक्रममा पार्टीका क्षेत्रीय सभापति हिराबहादुर खत्रीले विपी बहुआयामिक व्यक्ति भएकोले विद्यार्थीले विपीलाई बुझ्नुपर्ने बताए । राजनीति, साहित्य सबैतिर विपी कोइरालाको योगदान अतुलनिय रहेको उनको भनाई छ ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गङ्गा शाही, जिल्ला सभापति तथा तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण, जिल्ला सहसचिव वासुदेव रिमाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology