देवदह । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले स्थानीय कमिटीहरुहरुको अधिवेशन गर्ने कार्यलाई अघि बढाएको छ । पार्टीको लुम्बिनी प्रदेश समितिले मंसिर ७ गतेसम्म संगठित सदस्य नविकरण गरी अभिलेखिकरण गर्न र अधिवेशनको तयारी गर्न निर्देशन दिएपछि पार्टी तयारीमा जुटेको हो ।
प्रदेश र जिल्ला पार्टीको निर्देशनअनुसार बिहिबार बसेको देवदह नगर कमिटिको विस्तारित बैठकले वडा अधिवेशनको लागि कमाण्डर तोकेको नगर पार्टी अध्यक्ष गोविन्द ठटराईले जानकारी दिए । "मङ्सिर १३ गतेभित्र देवदहका १२ वटै वडाको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ । त्यसको लागि प्रदेश सदस्यहरू नै कमाण्डरको रूपमा वडामा खट्नु हुनेछ ।" अध्यक्ष ठटराईले भने, "लगत्तै नगर अधिवेशन मार्फत नगर समितिको नयाँ नेतृत्व चयन हुनेछ ।"
पार्टीका केन्द्रिय सदस्य मक्सुद अलीसहितको उपस्थिति बसेको नगर बैठकले वडा अधिवेशन सम्पन्न गर्नको लागि प्रदेश सदस्यहरुलाई जिम्मेवारी प्रदान गरेको जनाइएको छ । जसको लागि वडा नं १, ३, ११ र १२ मा गोविन्द पंगेनी, वडा नं २, ४, ६ र ७ मा कल्पना सुवेदी र वडा नं ५, ८, ९ र १० मा मोतिलाल ढकाललाई जिम्मेवारी प्रदान गरिएको अध्यक्ष ठटराईले बताए ।
वडाको अधिवेशन लगत्तै पार्टीको निर्देशन बमोजिम मङ्सिर २९ गतेभित्र नगर अधिवेशन गर्ने र नयाँ नेतृत्व चयन गरिने सो पार्टीले जनाएको छ ।
पार्टी केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज क. चक्रपाणी खनाल (बलदेव) सहितको उपस्थितिमा कार्तिक २९ गते दाङमा बसेको बैठकले मसिर ८ गतेदेखि १५ गतेसम्म वडा अधिवेशन गरिसक्ने र मसिंर १६ देखि २९ गतेसम्म गाँउ, नगर र उपमहानगरको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो ।
प्रदेश पार्टीले युवा मोर्चा (वाईसिएल)को संगठन निर्माण र परिचालनमा विशेष ध्यान दिने र पार्टीका स्थानीय संगठनहरुमा नयाँ नेतृत्व चयन गर्ने लगायतका निर्णय गरेको जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology