काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन् । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको आज बसेको बैठकले साे निर्णय गरेकाे हाे ।
पाण्डेले विवेकशील साझा पार्टी सुदृढीकरण अभियानका नाममा हिजो २०१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका थिए । यसलाई पार्टी विभाजनको प्रयासका रुपमा लिएर संस्थापन पक्षले पाण्डेलाई निश्काशित गरेको हो ।
पार्टीको संयोजक पदमा रहेका पाण्डेको कार्यकारी अधिकार भने यसअघि नै खोसिएको थियो ।
पाण्डेलाई कारबाही गरिएको जानकारी गराइएको पत्र यस्तो छः
मितिः ६ पुस २०७८, मंगलबार
श्री मिलन पाण्डे,
काठमाडौं ।
विषयः पार्टीको सदस्य समेत नरहने गरी निष्कासन गरिएको बारे।
विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईँले पार्टीलाई गम्भीर क्षति पु¥याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मङ्सिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय अनुसार तपाईँसँग पुष ४ गतेसम्मको समय दिएर लिखित स्पष्टीकरण (च. सं. ५०१) माग गरिएको विदितै छ।
पार्टीले दिएको उक्त समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक तपाईँको स्पष्टीकरणमा तपाईँसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ।
तपाईँले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिन्छ।
अतः पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज मिति २०७८ पुष ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै तपाईँलाई आजकै मितिदेखि लागु हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ।
तपाइँले प्रयोग गर्दै आउनुभएको पार्टीको नाम, लेटरहेड, छाप, चुनाव चिन्ह तथा पार्टीसँग सम्बन्धित कुनै पनि सामग्री आजैका मितिदेखि प्रयोग नगर्न र गरेमा प्रचलित कानुन बमोजिम कारबाही अघि बढाइने जानकारी पनि गराइन्छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology