काठमाडौं । स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता निवेदन दिएका छन्।
आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सकिने समय दिएको थियो ।
आयोग स्रोतका अनुसार यो अवधिभित्र ८० दलले दर्ताका लागि निवेदन दिएका छन्।
आयोगबाट ११० दलले मान्यता पाएकामध्ये ८० दलले मात्रै स्थानीय चुनावमा भाग लिन दल दर्ता गरेका छन्।
२०७९ वैशाख ३० मा स्थानीय तह निर्वाचन हुँदैछ। सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले तीव्र रूपमा काम अगाडि बढाइरहेको छ।
संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने व्यवस्था छ।
दल दर्ताका लागि आएका निवेदन अध्ययन गरेर फागुन २३ भित्र आयोगले निर्णय गरी दर्ता भएका दलका नाम राजपत्रमा प्रकाशित गर्ने तयारी गरेको छ।
आयोगमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपालगायत दलले दर्ता निवेदन दिएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology