देवदह । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत देवदह नगरपालिकाको नतिजा बुधबार सार्वजनिक भयो । जस अन्तर्गत नगर प्रमुखमा नेकपा एमालेका धुब्र प्रसाद खरेल निर्वाचित भएका छन् । खरेलले १२ हजार ९४३ मत प्राप्त गरेका छन् । उनले नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेका नेपाली काङ्ग्रेसका हिरा बहादुर खत्रीलाई १६२० मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । खत्रीले ११ हजार ३२३ मत पाएका छन् ।
त्यस्तै उपप्रमुखमा एमालेकै बिद्यालक्ष्मी गुरुङ निर्वाचित भएकी छन् । गुरुङले १३ हजार ७८४ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी सुन्दरी गिरिले ७ हजार २९० मत प्राप्त गरेकी छिन् ।
त्यसैगरी देवदहमा रहेका १२ वडा मध्य ६ वडामा नेपाली कांग्रेसले अध्यक्ष जितेको छ भने ५ वटा वडामा एमाले विजयी भएको छ । वडा नं. ११ मा भने राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । कुल ४८ हजार २९१ मतदाता रहेको देवदह नगरपालिकामा ३६०२० मत खसेको थियो।
वडा नं. १
वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार दीपक प्रसाद नेपाल विजयी भएका छन् उनले ८०३ मत सहित निकटम प्रतिद्वान्धी नेकपा एमालेका रमेश शर्मा भुसाललाई पराजित गरेका हुन् । पराजित भएका भुसाल यस अघि एमालेबाट निर्वाचित अध्यक्ष हुन्। उनले ५५१ मत प्राप्त गरेका छन्।
त्यसैगरी, खुल्ला सदस्यमा कांग्रेसकै लालमन यादवले ८०४ मत र आविद अलि फकिरले ८४४ मत प्राप्त गरि विजयी भएका छन्। महिला सदस्यमा आरासुन निशाले ८७३ मत प्राप्त गरेकी छन् भने दलित महिला सदस्यमा लक्ष्मी विकले ८९७ मत सहित विजयी भएकी छन्।
वडा नं. २
वडा नं. २ मा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार दलबहादुर राकसकोटीले ९६६ मत सहित निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका विक्रम पौडेललाई पराजित गरेका छन् । पराजित भएका पौडेलले ७०३ मत प्राप्त गरेका छन्।
त्यसैगरी, खुल्ला सदस्यमा एमालेकै श्री प्रसाद गुरुङले ८५८ मत र राम प्रसाद न्यौपानेले ९०७ मत प्राप्त गरि विजयी भएका छन्। महिला सदस्यमा गीता भण्डारीले १००१ मत प्राप्त गरेकी छन् भने दलित महिला सदस्यमा बेलुमाया सार्कीले पनि १००१ मत सहित विजयी भएकी छन्।
वि. सं. २०७४ सालमा उक्त वडाबाट एमालेकै धर्मागत पाण्डे विजयी भएका थिए ।
वडा नं. ३
वडा नं. ३ मा कांग्रेसका उम्मेदवार यज्ञ प्रसाद अर्याल विजयी भएका छन् । उनले ९४१ मत सहित निकटम प्रतिस्पर्धी एमालेका बैकुण्ठ बहादुर कुँवरलाई पराजित गरेका छन्। पराजित कुँवरले ८८७ मत प्राप्त गरेका छन्। त्यसै गरी अध्यक्षका अर्का प्रत्यासी नेकपा माओवादी केन्द्रका वम बहादुर आलेले ५५६ मत प्राप्त गरेका छन्।
यद्यपि उक्त वडामा कांग्रेसको प्यानल नै विजय भएको छैन। अध्यक्ष सहित खुल्ला सदस्यमा कांग्रेसका मेघनाथ न्यौपानेले १०२१ र अम्रिका प्रसाद थारू ९३६ मत प्राप्त गरि विजयी भएका छन्। महिला सदस्यमा कांग्रेसकै झम कुमारी थापाले ९५७ मत प्राप्त गरी विजयी हुदा दलित महिला सदस्यमा भने एमाले उम्मेदवार तिकिसरा सुनारले ९४७ मत प्राप्त गरी विजयी भएकी छन्।
काङ्ग्रेस र एमालॆ विच तिब्र प्रतिस्पर्धा भएको उक्त वडामा यसअघिको निर्वाचनमा एमालेले जितेको थियो।
२०७४ सालामा उक्त वडा एमालेले जितेको थियो ।तत्कालीन अवस्थामा कांग्रेसबाट बागी उम्मेदवार उठ्दा एमालेका बैकुण्ठ बहादुर कुँवरले वाजी पारेका थिए। उनै कुँवर अहिले कांग्रेस उम्मेदवारसँग पराजित भएका हुन्।
वडा नं. ४
वडा नं. ४ मा कांग्रेसका उम्मेदवार दमननाथ रेग्मी विजयी भएका छन् । उनले १२५४ मत सहित निकटम प्रतिस्पर्धी नेकपा एमालेका दीपक चापागाईंलाई पराजित गरेका हुन् । पराजित चापागाईंले ११५३ मत प्राप्त गरेका छन्।
यसरी १०१ मतान्तरले एमालेले गत निर्वाचनमा जितेको अर्को एक वडा गुमाएको छ।
यद्यपि उक्त वडामा कांग्रेसको प्यानल नै विजय भएको छैन। खुल्ला सदस्यमा कांग्रेसका तुल प्रसाद चौधरी विजय भएका छ्न भने अर्का खुल्ला सदस्यमा एमालेका मन बहादुर थारूले जीत हासिल गरेका छन्। महिला सदस्यमा एमालेकै शान्ता भट्टराई विजयी भएको छन् भने दलित महिला सदस्यमा पनि एमाले कल्पना हमालले जीत हासील गरेकी छन्।
२०७४ सालको निर्वाचन उक्त वडा एमालेले जीतेको थियो । त्यो बेला एमालेबाट निर्वाचित उनै चापागाईं अहिले पराजित भएका हुन्
वडा नं. ५
देवदह नगरपालिका वडा नं. ५ मा नेकपा एमाले विजयी भएको छ । वडाध्यक्षमा एमाले उम्मेदवार गणेश डुम्रे सहितको प्यानल नै विजयी भएको हो। अध्यक्षमा डुम्रेले १३८९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेस केशव पराजुलीले १०४९ मत प्राप्त गरेका छन् ।
अध्यक्षमा खरायो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका र पछी माओवादी केन्द्रले समर्थन गरेका बम बहादुर श्रीसले ४७४ मत प्राप्त गरेका छ्न । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार झगरीलाल मरासिनीले ४३६ मत प्राप्त गरेका छन् भने पुतली चुनाव चिन्ह लिएर अध्यक्षको स्वतन्त्र उम्मेदवार बनेका तोलराज विकले १२३ मत प्राप्त गरेका छन् ।
निर्वाचित भएका महिला सदस्य बिमला देवि दर्लामीले १६३१ मत, दलित महिला सदस्य संगीता विकले १५६७ मत र खुल्ला सदस्यद्वय सावित्रा पौडेलले १४९८ र होमनाथ भट्टराईले १५०७ मत प्राप्त गरेका छन् ।
२०७४ सालको निर्वाचनमा पनि उक्त वडा एमालेले जितेको थियो । एमालेबाट झिल्लु प्रसाद न्यौपाने विजयी भएका थिए ।
वडा नं. ६
वडा नं. ६ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । एमालेका उम्मेदवार खेम बहादुर थापाले ८४९ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका दामोदर क्षेत्रीले ७३४ मत प्राप्त गरेका छन् ।
यसैगरी वडाका अन्य सदस्यहरू दलित महिला सदस्य, महिला सदस्य र खुल्ला सदस्यमा पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।
गत निर्वाचनमा नेपाली कांग्रेसले जीतेको उक्त वडामा कांग्रेसबाट बागी उम्मेदवार उठेका थिए । पुतली चुनाव चिन्ह लिएर चुनाव लडेका कांग्रेसका बागी उम्मेदवार रुकात्मक भारतीले २६३ मत प्राप्त गरेका छन् । जुन भोटले कांग्रेसले उक्त वडा जित्न सक्थ्यो । बागीकै कारण कांग्रेसले उक्त वडा गुमाएको अनुमान गर्न सकिन्छ ।
साथै उक्त वडाको अध्यक्षको लागि निर्वाचन होमिएका अन्य उम्मेदवारहरू राप्रपाले २३९ र मंगोल नेशनल अर्गनाइजेसनले ८९ प्राप्त गरेका छन् ।
२०७४ सालमा उक्त वडा नेपाली कांग्रेसले जितेको थिए । तत्कालीन विजेता क्षेत्री अहिले पराजित भएका हुन् ।
वडा नं. ७
देवदह ७ मा नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेका तर्फबाट वडा अध्यक्षमा उम्मेदवारी दिएका कृष्ण प्रसाद अधिकारी सहितको प्यानल नै विजयी भएको हो।
अधिकारीले १२६२ मत प्राप्त गरि विजयी भएका छ ।उनका निकटम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गोपाल प्रसाद ढकालले १०८९ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका थानेश्वर लम्सालले ५३८ मत प्राप्त गरेका छन् भने राप्रपाबाट वडा अध्यक्षमै उम्मेदवारी दिएका बिनोद सेन्चुरीले ३६१ मत पाएका छन् ।
त्यसैगरी सदस्य तर्फ खुल्ला सदस्यमा रमेश खरेल र टिकाराम विक, महिला सदस्य तर्फ हुमा रेग्मी जैसी र दलित महिला सदस्य तर्फ दिपा विक निर्वाचित भएका छन् ।
वडा नं. ८
देवदह नगरपालिकाको वडा नं. ८ मा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका हरिप्रसाद पाण्डे निर्वाचित भएका हुन् । उनले १०९५ मत प्राप्त गरि निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका गंगा बहादुर थापाले ९०८ मत प्राप्त गरेका छन् ।
महिला सदस्यमा कांग्रेसकी गोमा खरेललाई पराजित गर्दै एमाले कै कुन्ती खाम्चा विजयी भएकी छन् । खाम्चाले १२२३ मत प्राप्त गरेकी छन् । दलित महिला सदस्यमा झपिन्द्र कुमारी विक विजयी भएकी छन् । उनले १२४४ सहित कांग्रेसकी अरुणा विकलाई पराजित गरेकी हुन् ।
त्यसैगरी खुल्ला सदस्यमा एमालेकै रेशम बहादुर पुन विजयी भएका छन् । उनले ११७६ मत ल्याएर कांग्रेसका कुलराज शर्मालाई पराजित गरेका हुन् । अर्का खुल्ला सदस्यमा हरि प्रसाद पौडेल विजयी भएका छन् । पौडेलले ११७८ मत सहित कांग्रेसका प्रेम नारायण खरेललाई पराजित गरेका हुन ।
यस अघि २०७४ मा उक्त वडा एमालेले जितेको थियो । एमाले नेता डण्डपानी भट्टराई अध्यक्ष निर्वाचित भएका थिए ।
वडा नं. ९
देवदह नगरपालिकाको वडा नं. ९ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार मोहन बहादुर जिसी निर्वाचित भएका छन् । उनले १४०९ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका केशब प्रसाद भट्टराईले १३१३ मत प्राप्त गरेका छन् ।
महिला सदस्यमा एमालेकी देवी अधिकारीलाई पराजित गर्दै कांग्रेसकै कृष्ण माया राना विजयी भएकी छन् । रानाले १३६३ मत प्राप्त गरेकी छन् । दलित महिला सदस्यमा एमालेकी लक्ष्मी विक विजयी भएकी छन् । उनले १३३२सहित कांग्रेस उम्मेदवार शोभा विकलाई पराजित गरेकी हुन् ।
त्यसैगरी खुल्ला सदस्यमा कांग्रेसका चमकान्त गौडेल विजयी भएका छन् । उनले १२७९ मत ल्याएर एमालेका खैराज शर्मालाई पराजित गरेका हुन् । अर्का खुल्ला सदस्यमा माओवादी केन्द्रका डोलराज न्यौपाने विजयी भएका छन् । न्यौपानेले १३५३ मत सहित एमालेका राम विश्वकर्मालाई पराजित गरेका हुन । न्यौपाने माओवादी केन्द्रका भएपनि गठबन्धन बनाएर रुख चिन्हमा चुनाव लडेका थिए ।
२०७४ सालमा उक्त वडा एमालेले जितेको थियो । अहिलेका विजेता मोहन जिसीलाई तत्कालीन अवस्थामा एमालेका केशब भट्टराईले पराजित गरेका थिए । अहिले नतिजा उल्टिएको छ ।
वडा नं. १०
देवदह १० मा नेपाली कांग्रेसका यकु सुनारको प्यानल विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले एमालेका मन बहादुर कनौजेको प्यानललाई पराजित गर्दै जीत हासील गरेको हो ।
वडाध्यक्षमा यकु सुनार २१५६ मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी कनौजेले १७८० मत प्राप्त गरेका छन् ।
खुल्ला, महिला र दलित महिला सदस्यमा पनि कांग्रेस र माओवादीको गठबन्धनले जीत हासील गरेको निर्वाचन कार्यालयले जनाएको छ ।
यस अघिको निर्वाचनमा पनि कांग्रेसले जितेको उक्त वडामा वडाध्यक्ष सुनार दोहोरीएका छन् ।
वडा नं. ११
देवदह नगरपालिकाको वडा नं. ११ मा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । अध्यक्षमा राप्रपाका यादवले ७७७ मत प्राप्त गरेमा छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अमर बहादुर चौधरीले ७०१ मत प्राप्त गरेका छन् ।
रोचक प्रतिस्पर्धा भएको उक्त वडामा अध्यक्षका अन्य प्रतिस्पर्धी नेकपा एमालेका जीत बहादुर प्रसाद थारूले ५४४ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार बल बहादुर श्रेष्ठलेको लौरो चुनाव चिन्हले ३२३ मत प्राप्त गरेको छ ।
नेकपा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेदवार हरिद्वार यादवले २८२ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका राजाराम यादवले ११८ मत पाएका छन् । नेपाल दलित पार्टी र नेपाल मंगोल अर्गानाइजेसनले ९-९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सदस्य पदमामा पनि राप्रपाले एकलौटी जीत हासील गरेको छ । खुल्ला सदस्यमा मंगल प्रसाद थारू (७७३) र राजकुमार केवट (७१०) विजयी भएका छन् भने महिला सदस्य र दलित महिला सदस्यमा क्रमश संगीता मल्लाह (७७२) र कौशल्या चमाईन (७७६) विजयी भएका छन् ।
२०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता अमरबहादुर चौधरीले जितेको वडा अहिले राप्रपाले खोसेको हो ।
वडा नं. १२
उक्त वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका डेकबहादुर सारू मगर विजयी भएका छन् । उनले ७५३ मत प्राप्त गरेर विजयी हुँदैगर्दा राप्रपाका अनिरुध प्रसाद थारू झिनो मतले पराजित भएका छन् । थारूले ७१८ मत प्राप्त गरेका छन् ।
त्यसैगरि निवर्तमान अध्यक्ष समेत रहेका एमाले उम्मेदवार बाबुलाल यादवले ४८२ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्र र जनता समाजवादीका साझा उम्मेदवार उदयराज केवटले ३१९ मत प्राप्त गरेका छन् । जनमत पार्टीका रुवास तेलीले २०७ मत प्राप्त गरेका छन् भने नेपाल दलित पार्टीका नन्दलाल विकेले ३४ र मंगोल नेसनल अर्गनाइजेसनका जीवन तामाङले २९ मत प्राप्त गरेका छन् ।
त्यस्तै सदस्यहरूमा राप्रपाले एकलौटी जीत हासील गरेको छ । जसमध्य खुल्ला सदस्यमा गोविन्द तेली (७२८) र चिनक मल्लाह (६८१) मत सहित विजया भएका छन् । भने महिला सदस्यमा उमादेवी खवास (८१६) र दलित महिला सदस्यमा विन्दा पासी (७३२) मत सहित विजयी भएका छन् ।
२०७४ सालमा एमाले नेता बाबुलाल यादवले जितेको उक्त वडामा अहिले उनै यादव पराजित भएर कांग्रेसले बाजि मारेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology