देवदह । वि. सं. २०५४ सालमा रेडियो नेपालमा स्वर परिक्षा पास गरि यहि माटोमा मैले आँखा खोंले, यहि धर्तीमा मैले हातपाउ टेके … बोलको गीतबाट संगीत यात्रा सुरु गरेर देवदहबाट राष्ट्रिय कलाकारको छवि बनाउन सफल कलाकार तेजु अर्याल आफ्नो तीन दशक लामो कम्युनिस्ट राजनीति परित्याग गरि नेपाली कांग्रेस प्रवेश गरेका छन् । अर्याललाई बिहिबार एक कार्यक्रम विच नेपाली कांग्रेसका नेता अब्दुल रज्जाक, रामकृष्ण खाँण, हिरा बहादुर केसी लगायतले पार्टीमा स्वागत गरे ।
नेकपा एमालेको लामो राजनीतिक इतिहास बोकेका उनी एकाएक कांग्रेस बनेका भने होइनन् । पछिल्लो समय एमालेमा नवआगन्तुकको हालीमुहाली भएको र पुराना कार्यकर्तालाई उपेक्षा गरिएको भन्दै उनी त्यति सक्रिय थिएनन् । एमालेमा सिधा-साधा मान्छे टिक्न नसक्ने उल्लेख गर्दै उनले क्षमता अनुसारको जिम्मेवारी प्राप्त नभएकोले आफुले धेरै सोंच बिचार गरेर पार्टी परिबर्तन गरेको बताए ।
२०४६ सालबाटै वामपन्थी आन्दोलनको सांस्कृतिक क्षेत्रमा सक्रिय उनी देवदहका त्यस्ता कलाकार हुन्, जसले यहाँ हुने हरेक सामाजिक संघसंस्था देखि टोल टोलमा हुने औपचारिक/अनौपचारिक कार्यक्रममा कार्यक्रम अनुसारका शब्द संकलन गरि आफ्नो प्रस्तुति दिने गर्थे ।
सेतोमसीसंग कुरा गर्दै उनले आफु मुलतः सांस्कृतिक कर्ममार्फत सामाजिक काम गर्ने ब्यक्ति भएको उल्लेख गर्दै एमालेले आफ्नो क्षमता र योगदानको कदर गर्न नसकेको टिप्पणी गरे ।
के अब तपाईंले नेपाली कांग्रेसमा त्यो भुमिका पाउँनुहुन्छ ? जुन तपाईंले खोजिरहनुभएको छ, भन्ने प्रश्नमा कलाकार अर्याल आफु कुनै भुमिका पाउँने उद्देश्यले कांग्रेस प्रवेश नगरेको उल्लेख गरे । हिजो आफू एमालेमै रहँदा समेत देवदहमा क्रियाशिल कांग्रेस नेताहरूबाट माया, ममता र सद्भाव पाएकोले कम्तिमा आफ्नो क्षमताको कदर त्यहाँ हुन्छ भन्ने लागेर आफू कांग्रेस बनेको उनको भनाइ छ ।
आफ्नै झन्डै दुई दर्जन बढी गीतमा स्वर, संगीत, शब्द र लय भरेका अर्यालले ५० बढी गीतमा आफ्नो कला पस्केका छन् । देवदहको सामुदायिक रेडियो देवदहमा बज्ने जिंगल समेत उनै अर्यालले सृजना गरेका हुन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology