देवदह । राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आचार्य सहितको टोलिले देवदहमा भैरहेको कामको अनुगमन गरेको छ । शनिबार आयोगका सदस्य र सरोकारवाला कार्यालयका प्रमुख सहितको टोलिले देवदहको वडा नं. ५, ६, ७, ८, ९ र १० को अनुगमन गरेको हो ।
अनुगमनको क्रममा संचारकर्मीसंग बोल्दै अध्यक्ष आचार्यले जिल्लामै देवदहमा उत्कृष्ट काम भएको बताए । देवदहमा अधिकांश काम सम्पन्न भएको र देवदहमा सकिएपछि अन्य पालिकामा काम सुरु गरिने उनले बताए ।
हाल २० जना अमिनले देवदहमा काम गरेको बताउँदै उनले आयोगसँग भएको अधिकांश जनशक्ति देवदह केन्द्रित भएको बताए । आफुसंग प्रयाप्त जनशक्तिको नभएको उल्लेख गर्दै उनले पालिकाहरूले पनि छोटो समयका लागि अमिनहरू नियुक्त गरेर आयोगलाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।
यसअघि संचारकर्मीसंग प्रतिनिधिसभाको निर्वाचन अघि नै लालपुर्जा वितरण गर्ने बताउँदै आएका उनले अझै पनि उक्त संभावना जिवितै रहेको बताए । आफूले धेरै जग्गा नाप्ने र त्यसै छोड्ने भन्दा पनि जति नापिन्छ त्यहाँ पुर्जा दिएर अघि बढ्ने रणनीति अनुसार काम गरेको उनको भनाइ छ ।
अनुगमनमा आयोगका जिल्ला सदस्य भरत तिवारी, बद्रे आलम, निरमाया बोहोरा, नापी कार्यालयका प्रमुख कृष्ण प्रसाद सापकोटा, मालपोत कार्यालयका प्रमुख अधिकृत कुमार आचार्य, जिल्ला समन्वय समितिका अध्यक्ष धर्मकला अर्याल, जिल्ला बन कार्यालयका प्रमुख अधिकृत जयप्रकाश गुप्ता, भुमी सेवा आयोग देवदहका अधिकृत सुरज बस्याल लगायतको उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology