देवदह । देवदह प्रिमियर लिग (डिपिएल) सिजन ३ अन्तर्गत लिग चरणको अन्तिम खेलमा खैरेनी ग्लाडियेटर्सले बिर्ता राइनोजलाई ३६ रनले पराजित गरेको छ । शुक्रबार देवदह क्रिकेट युनिटको मैदानमा भएको २८औँ खेलसँगै प्रतियोगिताको लिग चरणका सम्पूर्ण खेल सम्पन्न भएका छन् ।
टस जितेर पहिले ब्याटिङ गरेको खैरेनी ग्लाडियेटर्सले १६ ओभरमा ९ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । खैरेनीका लागि कमल जैसीले सर्वाधिक ४२ रन बनाए । उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे । सागर काफ्लेले १७, अनिल यादवले १२ र शहजाद आलमले ११ रन जोडे ।
९६ रनको लक्ष्य पछ्याएको बिर्ता राइनोज १५.२ ओभरमा ५९ रनमै समेटियो । बिर्ताका लागि अबरार अलीले २१ र किशोरकुमारले १७ रन बनाए ।
खैरेनीका अनिल यादवले उत्कृष्ट बलिङ गर्दै १९ रन खर्चेर ४ विकेट लिए । कमल जैसीले १४ रन दिएर ३ विकेट हात पारे भने संकेट भट्टराईले २ विकेट लिए । योगेश अग्रहरीले १ विकेट लिए ।
खैरेनीको जितसँगै डिपिएल सिजन ३ को लिग चरणका २८ खेल सम्पन्न भएका छन् । अब प्रतियोगिता नकआउट चरणमा प्रवेश गर्नेछ । लिग चरणको समाप्तिसँगै टोलीहरूको आगामी यात्रा निर्णायक चरणमा तय हुनेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology