रूपन्देही । देवदहको सगरमाथा आवासीय माध्यमिक विद्यालयमा राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरुभएको छ। दलले ३६ जना विद्यार्थीलाई दिन लागेको हो ।
सय दिन चल्ने सो तालिम ७९ दिन विद्यालयमा हुने र बाँकी २१ दिनको तालिम पूर्वीय नवलपरासीको हात्तीखोरमा रहेको सेनाको ब्यारेकमा सञ्चालन हुने सहायक गणपति सेनानी ओम बहादुर अधिकारीले जानकारी दिए।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव प्रसाद खरेलले कार्यक्रममा देवदह नगरपालिकाको एक अग्रगामी विद्यालय छनोट भएकोमा खुसी व्यक्त गरे । सेनाको बर्दी देख्दा आम नेपालीको शिर सम्मानले निहुरिने बताउंदै प्रमुख खरेलले नेपालको संरक्षणका निम्ति सेनाले प्रमुख भूमिका खेल्ने भएकाले सेनालाई सम्मान गर्नुपर्ने बताए । उनले तालिम समापनपछि प्रशिक्षार्थीहरूले देवदह नगरपालिकामा विपत्ति भएका बेला सहयोगका लागि प्रयोग गर्ने बताए ।
उपस्थिति सबैलाई स्वागत गर्दै विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले राष्ट्रिय सेवा दलले तालिमका लागि आफ्नो विद्यालयलाई छनोट गरेकोमा आभार व्यक्त गरेका थिए। उनले तालिमको औचित्य बताउँदै अभिभावकलाई तालिमका लागि सहकार्य गरिदिन आग्रह गरे ।
कार्यक्रममा देवदह नगरपालिकाका वडा नं ७ का वडाध्यक्ष कृष्ण प्रसाद अधिकारी, शिक्षा अधिकृत पर्शुराम ढकाल, वडा सदस्य रमेश खरेल, लगायतलेमन्तव्य राखेका थिए।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज मरासिनीको अध्यक्षता रहेको कार्यक्रम विद्यालयका सहायक प्राचार्य प्रदिप अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो।
के हो एनसीसी तालिम ?
सेनाले दुई चरणमा तालिमहरू सञ्चालन गर्छ । हरेक वर्षको साउनदेखि माघसम्म १ सय दिन चल्ने तालिमको पहिलो चरण अर्थात संस्थागत तालिम सम्बन्धित विद्यालयमा दिइन्छ ।
विद्यालयको पढाईमा कुनै असर नपर्ने गरी दिईने उक्त तालिमको लागि विद्यार्थीले शारीरिक र स्वास्थ्य परीक्षा पास गर्नुपर्छ भने तालिममा सहभागिताका लागि विद्यार्थी स्वयं र अभिभावकको समेत अनुमति आवश्यक हुन्छ। ७९ दिनसम्म विद्यालयमा चल्ने तालिममा सैद्धान्तिक सैन्यज्ञानका साथमा एरोबिक्स, मास पिटी, तेक्वान्दो पिटी, खुकुरी ड्रिल र नक्सा अध्ययन सिकाइन्छ। सिनियर डिभिजनले हतियार तालिम अर्थात फायरिङ पनि सिक्छन् । ७९ दिनको तालिमपछि २१ दिने क्याम्प तालिम हुन्छ ।
क्याम्पको लागि मोरङको याङ्सिला, नवलपरासीको हात्तिखोर र बाँकेको कोहलपुरमा लगिन्छ । २१ दिन चल्ने क्याम्प तालिममा खोज उद्धारदेखि मास पिटी, भिडमा बोल्ने तरिका र नेतृत्व विकास सम्मको तालिम लिन सकिन्छ । सिनियर डिभिजन तालिममा घेाडचढी, स्विमिङ, हाइकिङ र रक क्लाइम्बिङसम्म सिकाइन्छ ।
यसरी तालिम लिएका युवाहरूले दैविक प्रकोपको उद्धारदेखि लागूऔषध र चेलिबेटी बेचबिखनविरुद्धकी अभियानमा योगदान दिनसक्ने र सुरक्षासंग सम्बन्धित कार्यमा महत्वपूर्ण कार्य गर्न सक्ने हुनाले यस प्रकारको तालिम महत्वपूर्ण मानिन्छ। नेपालका हालका प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले समेत २०२८ सालमा यो तालिम लिएका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology