देवदह । रुपन्देहीको देवदहस्थित देवदह माध्यमिक विद्यालयले शिक्षकलाई निजामती कर्मचारी सरह सेवा सुविधा दिईनुपर्ने भन्दै सर्बोच्च अदालतमा मुद्दा दायर गरेका रमेशबाबु भट्टराईलाई आर्थिक सहयोग गरेको छ । विद्यालयमा अध्यापनरत शिक्षकहरुले व्यक्तिगत रुपमा रकम संकलन गरि भट्टराईलाई बीस हजार रुपैयाँ सहयोग गरिएको हो ।
भट्टराईको अभियान शिक्षकको पक्षमा रहेकोले सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक केशवप्रसाद घिमिरेले बताए । "सबै शिक्षक साथीहरुले सहयोग गर्नुपर्ने कुरा गरेको हुनाले व्यक्तिगत रुपमा रकम संकलन गरि सहयोग गरिएको हो" - उनले भने ।
यद्यपि शिक्षकहरुले आफुलाई निजामती कर्मचारी सरह सेवा सुविधा माग गर्दै गर्दा यस प्रकारका व्यक्तिगत सहयोगको सवालमा पनि विद्यालयको 'लेटरप्याड' र 'छाप' प्रयोग गरेका छन् । यसरी व्यक्तिगत सहयोगमा विद्यालयको लेटरप्याड र छाप गर्न पाउने कि नपाउँने ? के को प्रयोग कहाँ र कसरी गर्ने आदिबारे शिक्षकहरु थप सजग हुनुपर्ने देखिन्छ ।
देवदह माविका शिक्षकहरूले लेखेको ऐक्यबद्दता पत्र जस्ताको तस्तै:
बिकासको जड शिक्षा । औपचारिक शिक्षाको आधार तयार गर्ने बर्ग शिक्षक वर्ग । यहि आधारले नै हुनुपर्छ विश्वका धेरै मुलुकमा शिक्षा सेवा राज्यको पहिलो प्राथमिकतामा पर्दछ । शिक्षण पेशा अति सम्मानित र रोजाईको पेशा बनेको छ । उनीहरूको सेवा सुविधा र दायित्व पनि त्यही आधारमा उच्च स्तरको छ ।
विडम्वना हामीकहाँ भने झन पछि झन शिक्षा क्षेत्र ओझेलमा परीरहेको छ । राज्यले विशेष अवस्था र अवसरमा बेला बेलामा शिक्षकहरुलाई अतिरीक्त काममा पनि खटाउछ तर सेवा सुविधा र अवसरमा भने नेपाली शिक्षक वर्ग सधै न्युन प्राथमिकतामा परेका छन् । यस बर्षको बजेटमा शिक्षकहरूले चरम अपमान भेदभाव र दुर्व्यवहारको अनुभव गरेका छन् आर्थिक बर्ष २०७८ / ०७८ को बजेटको बुदाँ नं. ४०८ मा राष्ट्रसेवक शिर्षकमा राष्ट्रसेवक कर्मचारीको मनोबल बढाई सार्वजनिक सेवालाई प्रभावकारी बनाउने उल्लेख भए पनि सोही बुदाँमा आधारीत राष्ट्रसेवक कर्मचारीका रूपमा रहेका शिक्षकहरू प्रति भने पूर्वाग्रही देखिएको छ । निजामती कर्मचारी प्रति मात्र लक्षित रही शिक्षक र निजामती कर्मचारी विच विभेद बढाउने ढंगको व्यवस्था गरीएबाट आम शिक्षकहरुको मनोबल घटीरहेको छ । सरकारले घोषणा गरेको राष्ट्रसेवकको कार्यक्रममा दश लाख बराबरको सामुहीक दुर्घटना विमा एक लाखको स्वास्थ्य बिमा दश दिनको काज पर्यटन विदा लगायतका सेवा सुविधा निजामती कर्मचारीले प्राप्त गर्ने तर शिक्षक कर्मचारीहरूले नपाउने भएपछि यसले शैक्षिक क्षेत्रमा रहेको शिक्षक कर्मचारी जस्ता बौद्धिक वर्ग माथि विभेद र अपमान भएको पुष्टि गरेको छ ।
शिक्षण सेवामा रहेका शिक्षक कर्मचारीहरूलाई निजामती कर्मचारी सरह राष्ट्रसेवक कर्मचारीमा गणना गरी सेवा सुविधा प्रदान गर्नुपर्ने माग गर्दै श्री रत्न माध्यमिक विद्यालय, तनहुँका प्रधानाध्यापक रमेशबाबु भट्टराईको नेतृत्वमा सर्वोच्च अदालतमा पेश भएको रीट निबेदन प्रति श्री देवदह माध्यमिक विद्यालय, देवदह-७, रूपन्देहीका शिक्षक कर्मचारीहरूको पनि ऐक्यबद्धता रहेको छ । सर्वोच्च अदालतले सरकारलाई कारण देखाउ आदेश समेत दिई रहेको यो विषयमा अदालतले न्याय दिन्छ र सरकार पनि थप संवेदनशील बन्छ भन्ने हाम्रो विश्वास छ । सम्पूर्ण शिक्षक कर्मचारीको हकहीत तथा अस्तित्व रक्षाको लागि आवाज उठाउँनुहुने रमेशबाबु भट्टराई र यो अभियानको सार्थकताको लागि हामी देवदह मा.वि.का सम्पूर्ण शिक्षक कर्मचारीको तर्फबाट स्वऐच्छिक रूपमा रु २०,००० (अक्षरूपी बीस हजार रूपैया मात्र) संकलन गरी नेतृत्वकर्ता रमेशबाबु भट्टराईको माछापुच्छे बैंकमा रहेको खाता नं. 12-40-524-063557-01-6 (NPR A/c ) मा जम्मा गरेका छौ । हामीलाई विश्वास छ. शिक्षकको अस्तित्व प्रति सरकार थप संबेदनशील हुनेछ र हकहितका लागि उठाइएका आवाज सार्थक बन्नेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology