देवदह । देवदह नगरपालिका -८ मा अवस्थित जनता माध्यमिक विद्यालयले ३४औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ। शनिबार एक समारोहबीच विद्यालयको वार्षिकोत्सव मनाईयो ।
वार्षिकोत्सव समारोहमा बोल्दै देवदह नगरपालिकाका नगर प्रमुख ध्रुवप्रसाद खरेलले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि नगरपालिका लागिपरेको बताए । नगरपालिकाले विद्यालयमै पुगेर शैक्षिक गतिविधिको अनुगमन र सुझाव लिने काम गरिरहेको बताउँदै नगरप्रमुख खरेलले नगरको शैक्षिक स्तर उकास्नका लागि सबैको सहयोग आवश्यक रहेको औल्याए ।
देवदहका सबै मा.वि तहका विद्यालयमा मा.वि तहको दरबन्दी नगरपालिकाले पठाएको उल्लेख गर्दै उनले विद्यार्थीको शैक्षिक विकासमा शिक्षकसंगसंगै अभिभावकको पनि महत्त्वपूर्ण भुमिका रहने भनाई व्यक्त गरे ।
कार्यक्रममा देवदह आदर्श बहुमुखी क्याम्पसका प्रमुख मित्रलाल न्यौपाने, देवदह बोर्डिङ स्कुलका प्रिन्सिपल विष्णु प्रसाद पौडेल, विद्यार्थीको तर्फबाट स्नेहा तिवारी लगाएतले बोलेका थिए।
कार्यक्रममा विद्यार्थीहरूबाट गायन र नृत्य प्रतिभा प्रस्तुत गर्नुका साथै उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत, विद्यालयले अक्षयकोष दाता तथा शिक्षकलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रम शिक्षक बिमला अर्यालले संचालन गरेकी थिइन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology