देवदह । रुपन्देहीको देवदहमा तेश्रो मेयर कप वडास्तरीय रनिङ्ग सिल्ड फुटवल प्रतियोगिता शुरु भएको छ । बुधबार एक कार्यक्रमबीच देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेल र उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख खरेलले हरेक खेललाई प्रवद्र्धन गर्नको लागि आगामी दिनमा खेल महोत्सवको रुपमा कार्यक्रम अगाडि बढाउने गरी योजना बनाउने बताए । नगर प्रमुख खरेलले नगरको विकासमा खेलकुदको माध्यमबाट युवाहरुलाई जोड्ने गरी नगरपालिका लागिरहेको जिकिर गर्दै नगरपालिकाले खेलाडी उत्पादनसंगै संरक्षणलाई पनि ध्यान दिने बताए । विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्न सकिनेमा जोड दिदै उनले उत्पादित खेलाडीको उचित संरक्षण गर्न नगरपालिका तयार रहेको बताए ।

पाँचदिनसम्म संचालन हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहेको नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेले जानकारी दिएका छन् । एक वडाबाट एक टिमका दरले नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको सिफारिसमा टिम दर्ता गरिएको संयोजक पाण्डेले बताए ।
प्रतियोगितामा विजेतालाई नगद ५१ हजार र उपविजेतालाई नगद ३१ हजारसहित ट्रफी प्रदान गरिने जनाईएको छ ।
नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा, नगर प्रवक्ता गणेश डुम्रे, वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम नगर शिक्षा अधिकारी टिकाराम शर्माको स्वागत र शिक्षा अधिकृत पर्शुराम ढकालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
वडा नं १२ र १० दोस्रो चरणमा प्रवेश, मैत्रीपूर्ण खेलमा देवदह प्रेस क्लब विजयी
प्रतियोगितामा उद्घाटन खेल देवदह–९ र देवदह–१२ बीच भएको छ । जसमा वडा नम्वर १२ विजयी भएको छ । निकै प्रतिस्पधात्मक रहेको खेलमा दुवै टिमले १÷१ गोल गरेक थिए । निर्धारित समयमा दुवै टिमले थप गोल गर्न नसकेपछि खेल ट्राईवेकरमा पुगेको थियो । ट्राईवेरमा ५ का विरुद्ध ६ गोल गर्दै वडा नम्वर १२ दोश्रो चरणमा प्रवेश गरेको छ । खेलमा देवदह–१२ का जर्सी नम्वर ११ का खेलाडी सन्दिप सुस्लिङ्गले एक गोल गरेका थिए भने वडा नम्वर ९ का जर्सी नम्वर २१ क खेलाडी एलिस बोहोराले एक गोल गरेक थिए ।
त्यसैगरी आजै भएको दोश्रो खेलमा देवदह–१० विजयी भएको छ । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा २÷२ गोल भएपछि ट्राईवेकरको आधारमा देवदह–१० विजयी भएको हो ।
यसैबीच प्रतियोगिताको उद्घाटन खेलअघि प्रतियोगिताको पहिलो खेलको रूपमा आयोजक नगर खेलकुद विकास समिति र देवदह प्रेस क्लबबीच भएको मैत्रीपुर्ण खेलमा देवदह प्रेस क्लब विजयी भएको छ । मैत्रीपूर्ण खेलमा नगर खेलकुद विकास समितिलाई शुन्यका विरुद्ध ४ गोल गर्दै प्रेस क्लब विजयी भएको हो ।
मेयर कप प्रतियोगितामा भोलि पहिलो खेल वडा नं ३ र ११ बीच हुने तथा दोस्रो खेलमा वडा नं ४ र १ भिड्ने आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology