देवदह । रुपन्देहीको देवदहमा संचालित दोश्रो उपमेयर कप छात्रा भलिवल प्रतियोगिताको उपाधि सगरमाथा आवासीय माध्यमिक विद्यालयले जितेको छ । प्रतियोगिताको फाईनल खेलमा देवदह बुद्ध पव्लिक आवासीय माध्यमिक विद्यालयलाई हराउदै सगरमाथा माविले उपाधी जितेको हो ।
फाईनल खेलमा सोझो ३ सेट जित्दै सगरमाथाले विजेताको उपाधिसंगै नगद ४० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । खेलमा सगरमाथा आवासीय माध्यमिक विद्यालयले २५–१४, २५–२३, २५–१७ को सोझो सेट जित्न सफल भएको थियो ।
खेलमा देवदह बुद्ध पव्लिकले राम्रो प्रदर्शन गरेपनि जित्न नसकेपछि उपविजेतामा चित्त बुझाएका छन् । उपविजेता बनेसंगै देवदह बुद्ध पव्लिकले नगद ३० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा देवदह माध्यमिक विद्यालय तृतिय भएको छ । तेश्रो स्थानको लागि भएको खेलमा देवदह बोडिङ्ग स्कुललाई हराउदै तृतिय भएको हो । खेलमा देवदह माध्यमिक विद्यालयले २५–१८, २५–१९, २५–१९ मा तिन सेट जित्न सफल भएको थियो । खेलमा देवदह बोडिङ्ग स्कुलले २८–२६ मा एक सेट जित्न सफल भएको थियो । प्रतियोगितामा तृतिय हुने देवदह माध्यमिक विद्यालयले नगद २० हजार, ट्रफी प्राप्त गरेको छ भने सान्त्वना भएको देवदह बोडिङ्ग स्कुलले नगद १० हजार नगद प्राप्त गरेको नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेले जानकारी दिए ।
प्रतियोगितामा विधागत खेलाडीलाई समेत सम्मान गरिएको छ । खेलमा बेस्ट व्लकर सगरमाथाका एलिना कार्की, बेस्ट सेटरमा बुद्ध पव्लिकका अञ्जली कुवर, उदयमान खेलाडीमा देवदह बोडिङ्गका एलिना थापा, बेस्ट सर्टरमा देवदह माविका कुशुम थापा, वेस्ट प्लेयरमा सगरमाथाका विष्णु पोखरेल, अनुशासित खेलाडीमा सगरमाथाका भिम विक, बेस्ट स्पाईकरमा बुद्ध पव्लिकका पिंयका पुन, बेस्ट डिफेण्डरमा बुद्ध पव्लिकका ईशिका थापा तथा वेस्ट प्रशिक्षकमा सगरमाथाका सुजाता राना पुरस्कुत भएका छन ।
प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्दै देवदह नगरपालिका प्रमुख धु्रवप्रसाद खरेलले विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरेको बताए । प्रतियोगिताको माध्यमबाट विद्यार्थीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्न सकिने बताउदै खेलाडी उत्पादनसंगै संरक्षण गर्न नगरपालिका लागिपरेको बताए ।
नगर खेलकुद विकास समितिका संयोजक कमल पाण्डेको अध्यक्षतामा भएको समापन कार्यक्रममा उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा लगायतको सहभागिता रहेको थियो ।
देवदह नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिता देवदह क्षेत्रका १६ वटा विद्यालयको सहभागिता रहेको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology