Logo

२०८३, श्रावण २७गते


images
images

नगरसभा

देवदह नगरपालिकाको १८औं नगरसभा : ९८ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक

देवदह नगरपालिकाको १८औं नगरसभा : ९८ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक

images
  • देवदह नगरपालिकाको १८औं नगरसभा : ९८ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक
    images
    images

     देवदह । देवदह नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार नगर प्रमुख ध्रुव प्रसाद खरेलले १८औ नगरसभामा  ९८ बुदे नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

    images
    images
    images

     प्रस्तुत नीति तथा कार्यक्रममा नगरको आर्थिक, सामाजिक र भौतिक विकासलाई प्राथमिकतामा राख्दै बहुआयामिक योजना अघि सारिने उल्लेख छ । प्रमुख खरेलले कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकतामा राखेको जनाएका छन् । 

    images
    images
    images

    त्यस्तै नगरसभामा उपप्रमुख विद्या लक्ष्मी गुरुङले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक २०८३ र स्वास्थ्य सेवा सम्बन्धी विधेयक २०८३  प्रस्तुत गरेकी छन् ।

    images
    images
    images

    यस्तो छ ९८ बुदे नीति तथा कार्यक्रम

    कृषि तथा पशु सेवा

    १."एक वडा एक कृषि उत्पादन" को अवधारणालाई देवदहको माटो र हावापानी अनुरुप पकेट क्षेत्र घोषणा गरि कृषकलाई अनुदान उपलब्ध गराइने छ।

    ​२. उन्नत जातका बिउबिजन सहुलियत दरमा उपलब्ध गराउन "बिज बैंक" स्थापना गरिनुका साथै नगरपालिका र कृषकको साझेदारीमा कृषि औजार उपलब्ध गराइनेछ।

    ३. माटोको गुणस्तर पहिचान गर्न "माटो परीक्षण प्रयोगशाला" स्थापना गरी बाली विविवीकरण र उत्पादकत्व अभिवृद्धिमा जोड दिइनेछ।

    ४. दूध र मासुमा नगरलाई आत्मनिर्भर तथा निर्यातमुखी बनाउन व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै नश्ल सुधार र प्राविधिक सेवा किसानको गोठमै पुर्‍याइनेछ।

    ५. उत्पादित कृषि उपजले उचित मूल्य नपाउने समस्याको अन्त्य गर्न निर्माणाधीन 'कृषि उपज संकलन केन्द्र'लाई पूर्णता दिई सञ्चालनमा ल्याइनेछ।

    ६. सामुदायिक वन तथा निजी क्षेत्रको सहकार्यमा नगरलाई प्राङ्गारिक (Organic) तथा गड्यौला मल उत्पादन गरी अर्गानिक कृषि उत्पादनको हब बनाउन रासायनिक मल र विषादी निरुत्साहित गर्दै "विषादी परीक्षण प्रयोगशाला" स्थापना गरिनेछ।

    ७. बाँझो जग्गालाई प्रयोगमा ल्याई फलफूलका बगैँचा स्थापना गर्न इच्छुक कृषकलाई विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गरिनेछ।

    ८. भूमिहीन, सीमान्तकृत र साना किसानको जीवनस्तर उकास्न कौसी खेती, करेसाबारी व्यवस्थापन र सामूहिक खेती प्रणालीलाई प्रवर्द्धन गरिनेछ।

    ९. पशुपन्छीमा लाग्ने महामारी नियन्त्रणका लागि पशु स्वास्थ्य शिविर सञ्चालन र आवश्यक खोप सुलभ रूपमा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ।

    १०. नागरिकको सुरक्षा र पशु अधिकारलाई मध्यनजर गर्दै छाडा चौपाया तथा सामुदायिक कुकुरको व्यवस्थापन (बन्ध्याकरण र रेबिज खोप) साझेदार संस्थाहरूको समन्वयमा गरिनेछ।

    ११. वास्तविक कृषकको पहिचान स्थापित गर्न 'किसान कार्ड' वितरण कार्य यसै वर्ष सम्पन्न गरी उत्कृष्ट कृषकहरूलाई सम्मान गरिनेछ।

    १२. कृषि उत्पादन बढाउन सुख्खायाममा पानीको अभाव हुने क्षेत्रमा डिप बोरिङ, कुलो मर्मत र दिगो सिँचाइका पूर्वाधारहरू निर्माण गरिनेछ। ​

    सहकारी

    ​१३. सहकारी संस्थाहरूको वित्तीय सुशासन र पारदर्शिता सुनिश्चित गर्न 'कोपोमिस' (COPOMIS) प्रणालीलाई अनिवार्य गरिनेछ।

    १४. सहकारीको पुँजीलाई अनुत्पादक क्षेत्रबाट निरुत्साहित गरी कृषि र उद्यममा लगानी गर्न प्रोत्साहित गर्दै प्रभावकारी नियमन गरिनेछ।

    १५. समान उद्देश्य भएका सहकारीहरू बीचको एकीकरण (Merger) लाई प्रोत्साहन गर्दै स्थानीय कच्चा पदार्थमा आधारित उद्यम स्थापना गर्न उत्प्रेरित गरिनेछ।

    १६. महिलाहरूद्वारा सञ्चालित सहकारी संस्थाहरूको संस्थागत विकास र दिगोपनका लागि विशेष सीपमूलक कार्यक्रम सञ्चालन गरिनेछ।

    ​पर्यटन

    ​१७. बुद्ध मावली देवदहको ऐतिहासिक महत्त्व झल्काउन भवानीपुर, कन्यामाई, रोहिणी नदी, बैरीमाई, पाकडी, खयरडाँडा, देवदह (पुष्करणी दह) लगायतका स्थलको उत्खनन, संरक्षण र सौन्दर्यीकरण गरिनेछ।

    १८. स्थानीय समुदायको मौलिक कला र स्थानीय रैथाने परिकारलाई पर्यटनसँग जोड्दै "इको-टुरिजम" र "होमस्टे" प्रवर्द्धन गरिनेछ। १९. प्रमुख पर्यटकीय गन्तव्यहरू, मठमन्दिर र तालतलैयालाई सडक सञ्जालले जोड्ने गरी "देवदह पर्यटन सर्किट"को निर्माण कार्य अगाडि बढाइनेछ।

    २०. "घुमौँ देवदह" अभियान सञ्चालन गर्दै पर्यटकीय स्थलहरूमा 'QR Code' सहितको सूचना बोर्ड राखिनेछ।

    २१. स्थानीय युवाहरूलाई टुर गाइड र हस्पिटालिटी तालिम प्रदान गरी पर्यटन क्षेत्रमै स्वरोजगारका अवसरहरू सिर्जना गरिनेछ। २२. ऐतिहासिक माथागढी पदमार्ग निर्माणलाई निरन्तरता दिँदै 'देवदह मण्डप' निर्माणको कार्य प्रारम्भ गरिनेछ।

    २३. रोहिणी करिडोर र रोहिणी सभ्यताको पुनर्स्थापनाका लागि संघ र प्रदेश सरकारसँग समन्वय र सहकार्य गरिनेछ।

    २४. चुरेको फेदी देवदह-६ दाउन्ने देखि देवदह-१० चरङ्गेसम्म साइकल मार्ग निर्माण गरिनेछ।

    ​उद्योग तथा वाणिज्य ​

    २५. रोजगारी सिर्जनामा योगदान दिने साना उद्यमीलाई लक्षित गरी "नगर प्रमुखसँग उद्यमी रोजगार कार्यक्रम" लाई थप प्रभावकारी बनाई निरन्तरता दिइनेछ।

    २६. स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहित गर्दै देवदहका उत्पादनलाई "मेड इन देवदह" (Made in Devdaha) ब्रान्डिङ गरिनेछ।

    २७. नगरको आर्थिक विकासमा निजी क्षेत्रको सहभागिता बढाउन सार्वजनिक-निजी साझेदारी (PPP) मोडेललाई प्राथमिकताका साथ अवलम्बन गरिनेछ।

    २८. व्यक्तिगत तथा सामूहिक व्यावसायिक योजना बनाई साना घरेलु उद्यम सञ्चालन गर्न चाहने महिला, आमा समूह तथा महिला समूहलाई प्रविधि सहयोग गर्ने व्यवस्था मिलाइनेछ। ​

    उपभोक्ता हित संरक्षण ​

    २९. बजारमा हुने कालाबजारी, कृत्रिम अभाव र अखाद्य वस्तुको बिक्री वितरणलाई पूर्ण रूपमा नियन्त्रण गर्न बजार अनुगमन संयन्त्रलाई प्रभावकारी बनाइनेछ।

    ३०. वडास्तरमा उपभोक्ता अधिकार सचेतना कार्यक्रम सञ्चालन गर्दै दैनिक उपभोग्य वस्तुको गुणस्तर मापन गर्ने व्यवस्था मिलाइनेछ। ​

    रोजगार सम्बन्धी

    ​३१. बजारको माग र स्थानीय आवश्यकताको सूक्ष्म अध्ययन गरी युवाहरूलाई प्लम्बिङ, अटोमोबाइल जस्ता छोटो अवधिको प्राविधिक तालिम निःशुल्क प्रदान गरिनेछ।

    ३२. बेरोजगार युवाहरूको तथ्यांक संकलन गरी "श्रम संसार पोर्टल" मा आबद्ध गराई रोजगारदाता र श्रमिकलाई जोड्ने पुलको निर्माण गरिनेछ।

    ३३. वैदेशिक रोजगारीबाट फर्केका युवाहरूको ज्ञान र पुँजीलाई स्थानीय स्तरमै सदुपयोग गर्न युवा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरिनेछ।

    ​शिक्षा ​

    ३४. सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धिका लागि आवश्यकता अनुसार विद्यालय समायोजन, दरबन्दी मिलान र भौतिक पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिइनेछ।

    ३५. प्रविधिमैत्री सिकाइलाई आत्मसात गर्दै "डिजिटल देवदह सिकाइ" अन्तर्गत विद्यालयहरूमा क्रमशः स्मार्ट बोर्ड र सूचना प्रविधि प्रयोगशाला (IT Lab) को व्यवस्था गरिनेछ।

    ३६. गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई प्राविधिक उच्च शिक्षामा छात्रवृत्ति प्रदान गर्दै संस्थागत विद्यालयको छात्रवृत्ति परीक्षा नगरपालिकाबाटै लिने व्यवस्था मिलाइनेछ।

    ३७. शिक्षकहरूको पेसागत दक्षता अभिवृद्धि गर्न तालिम प्रदान गर्नुका साथै न्यून दरबन्दी भएका विद्यालय र बाल विकास शिक्षकलाई दिँदै आएको नगर अनुदानलाई निरन्तरता दिइनेछ।

    ३८. कक्षा ८, १० र १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय, शिक्षक र विद्यार्थीलाई उच्च मूल्याङ्कन गर्दै पुरस्कृत गरिनेछ।

    ३९. विद्यार्थीलाई स्वावलम्बी बनाउन "पढ्दै कमाउँदै" कार्यक्रम लागु गरी विद्यालय परिसरमै च्याउ खेती, गड्यौला मल निर्माण जस्ता हरित उद्यमशीलता प्रवर्द्धन गर्न बिउ पुँजी (Seed Money) उपलब्ध गराइनेछ।

    ४०. कक्षा ८ को आधारभूत तहको परीक्षालाई नगरपालिकाबाटै थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाइनेछ। ​

    युवा तथा खेलकुद ​

    ४१. युवाहरूको शारीरिक र मानसिक विकासका लागि "राष्ट्रपति रनिङ्ग सिल्ड", "नगर प्रमुख कप", "नगर उपप्रमुख कप" लगायतका फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन र कराँते प्रतियोगिता नियमित आयोजना गरिनेछ।

    ४२. देवदहलाई खेलकुदको हब बनाउन नगरस्तरीय बहुउद्देश्यीय रङ्गशाला निर्माणलाई प्राथमिकता दिँदै क्रमशः हरेक वडामा खेलमैदान र खुल्ला व्यायामशाला निर्माण गरिनेछ।

    ४३. देवदह-७ को क्रिकेट खेलमैदान, देवदह २ र ३ को पुष्पानन्द गिरी खेलमैदानको व्यवस्थापन, संरक्षण र निर्माण कार्य प्रारम्भ गरिनेछ।

    ४४. विद्यालयस्तरमै खेल प्रतिभाको पहिचान र विकास गर्न विद्यालयका खेल शिक्षकहरूलाई रेफ्री तथा खेलकुद सम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिनेछ।

    ​स्वास्थ्य

    ​४५. देवदह नगर अस्पताललाई स्तरोन्नति गर्दै २४ सै घण्टा आकस्मिक सेवा, विशेषज्ञ सेवा र ल्याबलाई सुदृढ गरिनेछ।

    ४६. सुलभ स्वास्थ्य सेवाका लागि एम्बुलेन्स खरिद गरि सञ्चालनमा ल्याइनेछ।

    ४७. नसर्ने रोगहरूको समयमै पहिचान गर्न वडास्तरमा नियमित स्वास्थ्य शिविर सञ्चालन गर्दै "स्वस्थ देवदह" जीवनशैली अभियानलाई अघि बढाइनेछ।

    ४८. एलोपेथिकका साथै आयुर्वेद र प्राकृतिक चिकित्सा सेवालाई प्रवर्द्धन गर्दै नागरिक आरोग्य सेवा केन्द्रको सेवा विस्तार गरिनेछ।

    ४९. मानसिक स्वास्थ्यलाई जनस्वास्थ्यको अभिन्न अङ्ग मान्दै योग, ध्यान र मनोसामाजिक परामर्श सेवालाई वडास्तरसम्म पहुँचयोग्य बनाइनेछ।

    ५०. महिला स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्य बिमा र क्षमता विकास, 'नगर उपप्रमुखसँग गर्भवती पोषण कार्यक्रम', तथा निःशुल्क रगत कार्यक्रमलाई निरन्तरता दिइनेछ।

    ५१. सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूको स्वास्थ्यलाई ध्यानमा राखी वर्षमा दुई पटक रक्त परीक्षणसहितको स्वास्थ्य जाँच सेवालाई निरन्तरता दिँदै उक्त सेवालाई संस्थागत विद्यालयमा समेत विस्तार गरिनेछ।

    ५२. लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि सचेतना र दुर्व्यसनमा परेका युवाहरूको पुनर्स्थापनाका लागि संघसंस्थासँग सहकार्य गरिनेछ।

    ५३. संघ तथा प्रदेश सरकारको सहकार्य र समन्वयमा देवदहलाई 'क्षयरोग मुक्त नगर' बनाउन आवश्यक कार्यक्रम तय गरिनेछ।

    ५४. एच.आई.भी./एड्स संक्रमितहरूको मानव अधिकार तथा स्वास्थ्य अधिकारको सुनिश्चितताको लागि अभिभावकत्व प्रदान गर्ने नीति अवलम्बन गरिनेछ।

    ​बालमैत्री स्थानीय शासन

    ​५५. बालबालिका विरुद्ध हुने सबै प्रकारका हिंसा, बालश्रम र बालविवाह अन्त्यका लागि 'शून्य सहनशीलता' को नीति लागु गर्दै वडास्तरमा निगरानी समूह गठन गरिनेछ।

    ५६. देवदहलाई बालमैत्री नगरपालिका घोषणा गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्दै नगरमा बन्ने हरेक सार्वजनिक संरचना अनिवार्य बालमैत्री र अपाङ्गतामैत्री बनाइनेछ।

    ​भाषा, साहित्य, कला, र संस्कृति ​

    ५७. लोपोन्मुख लोक भाषा, भजनकीर्तन र परम्परागत नाचको संरक्षणका लागि स्थानीय क्लब र आमा समूहहरूलाई आवश्यक सहयोग गरिनेछ।

    ५८. देवदहको साहित्यिक उन्नयन, संरक्षण र प्रवर्द्धन गर्न विविध सिर्जनात्मक तथा साहित्यिक कार्यक्रमहरूको आयोजना गरिनेछ।

    ५९. विभिन्न जातजातीको मातृभाषा संरक्षण तथा प्रवर्द्धन गर्न औपचारिक तथा अनौपचारिक शिक्षा सञ्चालनका लागि आवश्यक समन्वय तथा सहकार्य गरिनेछ। ​

    सुशासन तथा सूचना प्रविधि

    ​६०. सुशासनलाई पारदर्शी बनाउन "डिजिटल सुशासन" को अवधारणा लागु गर्दै नगरपालिका र वडा कार्यालयका कार्यहरूलाई क्रमशः कागजविहीन (Paperless) बनाइनेछ।

    ६१. सेवा प्रवाहलाई छिटो र समयसापेक्ष बनाउन कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोगलाई प्रवर्द्धन गर्दै कर्मचारीहरूलाई 'प्रम्प्ट इन्जिनियरिङ' लगायतका प्रविधिमैत्री तालिम प्रदान गरिनेछ।

    ६२. सेवा प्रवाहलाई अधिकतम विकेन्द्रीकरण गर्दै सम्भव भएसम्मका सबै सिफारिस र सेवाहरू वडा कार्यालयबाटै झन्झटमुक्त रूपमा प्रदान गरिनेछ।

    ६३. भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता अपनाउँदै योजना तर्जुमादेखि सम्पन्न हुँदासम्म सार्वजनिक सुनुवाइ र सामाजिक परीक्षणलाई अनिवार्य गरिनेछ。।

    ६४. कर्मचारीहरूको कार्यक्षमता वृद्धि र सेवा प्रवाहलाई चुस्त बनाउन देवदह नगरपालिकाको 'संगठन तथा व्यवस्थापन सर्वेक्षण' (O&M Survey) यसै वर्ष सम्पन्न गरिनेछ।

    ६५. नागरिकको सहजताका लागि भूमि प्रशासन सम्बन्धी सेवा (मालपोत र नापी) पालिकास्तरबाटै प्रवाह हुने व्यवस्था मिलाउन आवश्यक पहल गरिनेछ। ​

    कानुन तथा न्याय

    ​६६. स्थानीय तहलाई संविधानले प्रत्याभूत गरेका अधिकार र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा विषयगत ऐनले तोकेको कार्य गर्न आवश्यक पर्ने कानुनहरू क्रमशः निर्माण एवं अद्यावधिक गर्दै लगिनेछ।

    ६७. न्याय सम्पादनलाई सर्वसुलभ बनाउन न्यायिक समितिको क्षमता विकास गर्दै सबै वडामा रहेका मेलमिलाप केन्द्रहरूलाई साधनस्रोत सम्पन्न र सक्रिय बनाइनेछ। ​

    सामाजिक सुरक्षा तथा पंजीकरण ​

    ६८. ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्दै अशक्तहरूको हकमा घरदैलोमै पुर्‍याउने व्यवस्था मिलाइनेछ।

    ६९. जन्म, मृत्यु, विवाह जस्ता व्यक्तिगत घटना दर्तालाई तोकिएको समयभित्रै शतप्रतिशत पुर्‍याउन वडास्तरमा सचेतना र घुम्ती शिविर सञ्चालन गरिनेछ। ​महिला, बालबालिका तथा

    सामाजिक समावेशीकरण ​

    ७०. अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी परिचयपत्र घरमै गएर सम्मानका साथ वितरण गरिनुका साथै आवश्यक सहायक सामग्री निःशुल्क उपलब्ध गराइनेछ।

    ७१. ज्येष्ठ नागरिकको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्न र एक्लोपन हटाउन उपयुक्त स्थानमा "ज्येष्ठ नागरिक मिलन केन्द्र" वा दिवा सेवा केन्द्र स्थापना गरिनेछ।

    ७२. उपचार सम्भव हुने अपाङ्गता भएका बालबालिकाहरूका लागि गैरसरकारी संस्थाहरूसँगको साझेदारीमा उपचार सेवा र सहयोगी सामग्री व्यवस्थापन गरिनेछ।

    ७३. जोखिममा परेका र विशेष संरक्षण आवश्यक भएका बालबालिकाको उद्धार, मनोसामाजिक परामर्श र पारिवारिक पुनर्मिलनका लागि प्रभावकारी सहजीकरण गरिनेछ।

    ७४. घरेलु हिंसा, बालविवाह, दाइजो र बोक्सी प्रथा अन्त्यका लागि टोल विकास संस्था र आमा समूहहरू परिचालन गरी सचेतनामूलक अभियान सञ्चालन गरिनेछ।

    ७५. महिलाहरूको सीप प्रवर्द्धन र व्यवसाय स्थापनाका लागि 'उपप्रमुखसँग महिला कार्यक्रम' लाई परिमार्जनसहित थप प्रभावकारी बनाई निरन्तरता दिइनेछ।

    ७६. पछाडि पारिएका दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, लोपोन्मुख, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र एकल महिलालाई विकासको मूल प्रवाहमा ल्याउन विशेष लक्षित कार्यक्रम सञ्चालन गरिनेछ।

    ७७. सडक आश्रित सहयोगापेक्षी मानवहरूको व्यवस्थापनका लागि 'मानव सेवा आश्रम' सँगको सहकार्यलाई निरन्तरता दिँदै मानव अधिकार प्रवर्द्धनका कार्य अघि बढाइनेछ।

    ​कर प्रशासन ​

    ७८. करको दायरालाई फराकिलो बनाई प्रगतिशील कर प्रणाली लागु गर्दै राजस्व संकलनलाई पूर्ण रूपमा विद्युतीय (Online) प्रणालीमा आबद्ध गरिनेछ।

    ७९. घरजग्गा तथा सम्पत्तिको वैज्ञानिक मूल्याङ्कन प्रणाली लागु गरी कर प्रशासनलाई पारदर्शी, वस्तुपरक र अनुमानयोग्य बनाइनेछ।

    ८०. कर तिर्नु नागरिकको दायित्व हो भन्ने भावना जागृत गराउन वडास्तरमा "कर साक्षरता अभियान" सञ्चालन गरी राजस्व चुहावटलाई कडाइका साथ नियन्त्रण गरिनेछ। ​

    पूर्वाधार विकास

    ​८१. देवदहको लाइफलाइन 'देवदह रिङरोड' र प्रमुख सडकहरूको स्तरोन्नति, ढल निकास र कालोपत्रे गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाइनेछ।

    ८२. शहरी पूर्वाधारलाई आधुनिक बनाउन 'शहरी उत्थानशील तथा जीवनयापन सुधार आयोजना' (URLIP) मार्फत सडक, फुटपाथ निर्माण र नगर सौन्दर्यीकरण गरिनेछ।

    ८३. पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारी सिर्जनाका लागि 'वृहत्तर लुम्बिनी क्षेत्र विकास' (GLAD) आयोजना अन्तर्गतका कार्यक्रमहरू सञ्चालन गरिनेछ।

    ८४. नगरको सुरक्षा अभिवृद्धिका लागि "उज्यालो देवदह" कार्यक्रम अन्तर्गत सडकको दायाँबायाँ विद्युतीय सडक बत्ती र मुख्य चोकहरूमा 'हाईमाष्ट लाइट' (High-mast light) तथा सि.सि.टि.भि. क्यामेरा जडान गरिनेछ।

    ​भवन तथा बस्ती विकास

    ​८५. सार्वजनिक भवन, विद्यालय र स्वास्थ्य संस्थाहरू निर्माण गर्दा अनिवार्य रूपमा अपाङ्गतामैत्री, लैङ्गिकमैत्री र भूकम्प प्रतिरोधी मापदण्ड लागु गरिनेछ। ​

    भूमि व्यवस्थापन

    ​८६. भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको 'आफ्नै जमिन, आफ्नै छाना' को सपना साकार पार्न भूमि समस्या समाधान समितिको समन्वयमा जग्गाधनी प्रमाणपुर्जा वितरणको कार्य अगाडि बढाइनेछ।

    ८७. संघीय र प्रादेशिक भू-नीतिको अधीनमा रही देवदह नगरपालिकाको 'स्थानीय भू-उपयोग योजना' निर्माण गर्दै सार्वजनिक जग्गाको अतिक्रमण रोकि संरक्षण गरिनेछ। ​

    विपद व्यवस्थापन

    ​८८. विपदको सामना गर्न नगरस्तरीय विपद व्यवस्थापन कोषको आकार वृद्धि गर्दै स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई साधन सम्पन्न बनाइनेछ।

    ८९. वर्षायाममा रोहिणी, भलुही, घोडाहा, चरङ्गे, कजरार, केउली र सरन खोलाबाट हुने बाढी र कटानको जोखिम न्यूनीकरण गर्न पक्की तटबन्ध निर्माणलाई प्राथमिकता दिइनेछ।

    ९०. आगलागीबाट हुने क्षति न्यूनीकरण गर्न दमकललाई चुस्त राख्दै खानेपानी संस्थाको समन्वयमा घना बस्तीहरूमा 'फायर हाइड्रन्ट' (Fire Hydrant) स्थापना गरिनेछ।

    ९१. विपद पूर्वतयारीका लागि युवा स्वयंसेवक परिचालन गर्दै नगर प्रहरीलाई 'सर्प उद्धारकर्ता' को विशेष तालिम प्रदान गरी प्रभावकारी उद्धारको व्यवस्था मिलाइनेछ।

    ​फोहोरमैला व्यवस्थापन

    ​९२. संघीय तथा प्रदेश सरकारको सहकार्यमा फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि विशेषज्ञ कार्यदलको अध्ययनका आधारमा फोहोरलाई आर्थिक उपार्जनको स्रोत मान्दै आधुनिक प्रविधिसहितको वैज्ञानिक उत्कृष्ट मोडेलको 'ल्याण्डफिल्ड साईट' (Landfill Site) र प्रशोधन केन्द्र निर्माण गरिनेछ।

    ९३. "प्लास्टिकमुक्त देवदह" घोषणाका लागि अभियान सञ्चालन गरिनेछ।

    ​वन तथा वातावरण

    ​९४. सार्वजनिक जग्गा, नदी उकास क्षेत्र र सडक किनारमा "स्वच्छ र हरियाली देवदह" अभियान अन्तर्गत बृहत् वृक्षारोपण गरिनेछ।

    ९५. carbon उत्सर्जन घटाउन दाउराको प्रयोगलाई विस्थापन गर्दै बायोग्यास र सौर्य ऊर्जा जस्ता वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रोत्साहन गरिनेछ।

    ९६. नगरभित्रका सामुदायिक वन, सिमसार र जैविक विविधताको संरक्षण गर्दै ती क्षेत्रलाई नागरिकको आयआर्जन र पर्यटकीय गतिविधिसँग जोडिनेछ। ​

    ऊर्जा तथा खानेपानी ​

    ९७. खानेपानी संस्थासँग समन्वय गरि अति विपन्न नागरिकहरूलाई निःशुल्क खानेपानी धारा जडानको व्यवस्था मिलाइने छ।

    ९८. विद्युतीय तथा सुधारिएको चुलो कार्यक्रमलाई हरेक घरधुरीले सेवा लिने गरि क्रमशः विस्तार गरिनेछ। ​

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।