लघुकथा : 'अगुल्टो'
मसानघाटको छेउमा सानो झुपडी थियो । झुपडीभित्र एउटा झुपडीको मालिक मात्र बस्ने गर्थ्यो । भोक, शोक र बन्दक नै जिन्दगी जस्तो बनेको थियो । छेउछाउमा सबै सुनसान थियो । न कुनै आवाज न कुनै गति थियो । केही पर धिपधिप बलिरहेको आगोको उज्यालो देखिन्थ्यो ।
एक मनले भन्छ, "ए उठ । कति अल्छी बनेको । भोक मेटाउने होइन ?" शरीर भन्छ, "उठ्ने जागर छैन ।" फेरि मनले भन्छ, "उठेर के गर्नु ?" भोक भन्छ,"मलाई खान दिने होइन ।" दिमागसँग यसको उत्तर नै छैन ।
झुपडीका भाडा रित्ता छन् । शरीरले जाँगर गरे पनि चुलो जल्दैन । भाँडाभित्र राख्ने कुनै रासन नै छैन । रासन विना भाडा चुलोमा कसरी बसाल्ने ? अनेक सोचहरू आए ।निष्कर्ष एउटै अब के गर्ने ? न छिमेकी छन् न साथीभाइ । एउटै उसको गरी खाने भाँडो अगुल्टो पनि ऊबाट टाढा छ ।
ऊ सोच्छ । अगुल्टो मबाट किन टाढा ? त्यसैले त मेरो पेट भर्ने गर्थ्यो । उसको अगुल्टो किन खोसियो ? ऊ आफैलाई प्रश्न गर्छ । अनि उत्तर पाउँछ तर केही बोल्दैन । अनि रात बढ्दै गयो । उसका आँखा जबर्जस्ती बन्द भए ।
बिहानपख उज्यालो भयो । झुपडीमा आवाज आएन । न ऊ उठ्यो । न भाडा बज्यो । उसको शरीर जमिनमा लम्पसार परी रह्यो । दुईचार जना आवरण लगाएका मानिस आए । उसको लास मसान घाटमा लगेर चितामा राखे । सधैँ उसले अरूको बेवारिसे लास जलाउँथ्यो । अनि रासन पाउँथ्यो। आज उही अगुल्टोले अरूले उसको लास जलाए ।
- नारायण कोइराला, तानसेन, पाल्पा
हाल : यूएई।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology