तीज गीत : शहिदकी छोरी
मलाई पनि मन लाग्छ मीठो खान राम्रो लाउन
कहाँ जाने होला मैले न्याय पाउन ।।
मुक्ति हुन्छ भनेर लगे बालाई सडकमा
आमा पनि सहभागी महिला आवाजमा ।।
घरमा एउटा भाइ थियो तोते बोली बोलने
हामी दुई साना साना घरमा खेलनी ।।
आवाज आयो ड्याङ्डुङ् घर पर चोकमा
बाबालाई गोली लाग्यो देब्रे कोखामा ।।
आमा छोप्न जानू भयो के भयो खै भनेर
प्रहरीले गोली ठोक्यो मान्छे गनेर ।।
भन्न थाले नेताले अमर हुनुभयो वाहाँ
हामी दुई नाबालक के गर्थ्यौर त्यहाँ ।।
गए त्यसदिन नेताहरु फर्कि कहिल्यै आएनन्
सोचेका थ्यौ जे सपना साकार भएनन् ।।
हाम्लाई हेर्ने कोही छैन आफन्त नि टाढिए
बा आमालाई लाने नेता मन्त्री चुनिए ।।
के हो तीज थाहा छैन नाना चाचा के हो खै
भौतारीदै हिड्छु म त प्यासी मृग झै ।।
वरपर नाच्छन गाउँछन् नेताका छोराछोरीले
भाइ पाल्नलाई माग्दै हिड्छु शहिदकी छोरीले ।।
- दुर्गालाल तिवारी
प्रधानाध्यापक, सन्दीप आधारभूत विद्यालय, देवदह-९
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology